विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीमा दुई समूहबीचको विवादका क्रममा गोली लागेर घाइते भएका युवकको शरीरबाट गोली निकालिएको छ ।

शनिबार गोली लागेर घाइते भएका २४ वर्षीय निरजकुमार यादवको नोबेल मेडिकल कलेज, विराटनगरमा आइतबार बिहान शल्यक्रिया गरी शरीरभित्र रहेको गोली निकालिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार यादवको कम्मरमुनिको दायाँ भागमा गोली लागेको थियो । चिकित्सकले शल्यक्रिया गरेर शरीरभित्र रहेको गोली निकालेका हुन् । प्रहरीले निकालेको गोली कटुवा पेस्तोलमा प्रयोग हुने गोलीजस्तो देखिएको जनाएको छ । तर, एकिन भने भइनसकेको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले जारी गरेको विज्ञप्तिमा गोली नचलेको भन्ने आशय देखिएको विषयमा प्रवक्ता खड्काले त्यसको खण्डन गरेका छन् । उनका अनुसार विज्ञप्तिमा गोली नचलेको भनिएको नभई घटनामा मृत्यु भएको भन्ने गलत सूचना फैलिएकाले त्यसको मात्र खण्डन गरिएको हो, खड्काले भने । “गोली नचलेको भनेको होइन । मृत्यु भन्ने कुरा आएकाले त्यसको मात्र खण्डन गरेको हो,”।

घटनामा संलग्न भएको आरोपमा देवानगन्ज–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादव पक्राउ परेका छन्। स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएर रुखमा बाँधेको अवस्थामा प्रहरी पुगेको थियो। त्यसपछि प्रहरीले उनीहरूलाई आफ्नो नियन्त्रणमा लिएको हो। स्थानीयले उनीहरू सवार मोटरसाइकलमा समेत आगजनी गरेका थिए। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

शनिबार साँझ निरज छिमेकी विवेककुमार यादवसँग मोटरसाइकलमा हरिनगर बजारबाट घर फर्किरहेका थिए। सोही क्रममा बाटोमा रोक्दै उनीमाथि गोली प्रहार भएको प्रहरीको भनाइ छ। गोली प्रहार गर्ने समूहले विवेकमाथि समेत हातपात गरेको थियो। प्रारम्भिक अनुसन्धानमा पुरानो रिसिइबी र युवतीको विषयलाई लिएर दुई समूहबीच विवाद भएको खुलेको डीएसपी खड्काले बताए।

“पुरानो रिसिइबी र युवतीको विषयलाई लिएर विवाद भएको भन्ने प्रारम्भिक जानकारी आएको छ,” उनले भने, “घटनाबारे थप अनुसन्धान भइरहेको छ।”  स्थानीयले तस्करीको विषयसमेत उठाएको भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान सुरु गरेको खड्काले बताए।

देवानगन्जमा समूहगत विवादमा हतियार प्रयोग भएको यो पछिल्लो घटना हो। गत साउन १० गते देवानगन्ज–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए।