खोटाङ । चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार लगायतका स्थानमा नियमित अनुगमन गरिएको छ ।

दसैँतिहार तथा छठ पर्वलाई लक्षित गरेर दिक्तेल बजारको अल्छेढुङ्गा–रत्नपार्क, रत्नपार्क–पुरानो बेसक्याम्प, पुरानो बेसक्याम्प–त्रिवेणीचोक, त्रिवेणीचोक–हाटडाँडा र हाटडाँडा–अस्पतालचोसम्मका ६६ वटा होलसेल तथा किराना पसल अनुगमन गरिएको हो ।

संयुक्त अनुगमन टोलीले दिक्तेल बजारका होलसेल तथा किराना पसलबाट बरामद गरेका सामग्री नष्ट गरेको छ । म्याद नाघेका पेय पदार्थलाई खाल्डोमा हालेर र दैनिक उपभोग्य वस्तुलाई जिल्ला प्रशासन कार्यालय खोटाङ परिसरमा जम्मा पारेर आगो लगाएर नष्ट गरिएको हो ।

जिल्लामा पटकपटक होलसेल तथा किराना पसल अनुगमन गरेर म्याद गुज्रेका सामग्री बिक्री नगर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गर्ने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्रीले बताए । “बजारमै म्याद गुज्रेको खाद्यवस्तु र पेय पदार्थ भेटिँदा दूरदराजमा म्याद गुज्रेका सामग्री कति फेला पर्लान् भन्ने प्रश्न खडा भएको छ । प्रशासनले गर्ने अनुगमन गाउँगाउँमा पनि पुग्नुपर्ने नागरिकको माग छ”, उनले भने, “सम्भव भएसम्म सबै ठाउँमा अनुगमन गर्ने योजना छ । जिल्लाबाट पुग्न नसकिएको ठाउँमा सम्बन्धित पालिकालाई अनुगमन गर्न आग्रह गर्छौँ ।”

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङसँग सञ्चारकर्मीले उपभोक्ताको गुनासो राखेका थिए । पत्रकारको गुनासोपछि प्रजिअ गुरुङको निर्देशनमा होलसेल तथा किराना पसलमा अनुगमन गरिएको हो ।

सामग्री खरिद गर्ने ग्राहकले पनि खाद्यवस्तु तथा पेय पदार्थ खरिद गर्दा म्याद भए/नभएको मिति अनिवार्य एकिन गर्न र म्याद गुज्रेको भेटिएमा प्रशासनलाई जानकारी गराउन आग्रह गरिएको प्रजिअ गुरुङले जानकारी दिए ।

“म्याद गुज्रेका सामग्री बिक्री गर्नेलाई पहिलोपटक सजग गराउँछौँ । पुनः भेटिएमा कानुनी कारबाहीको दायरामा ल्याइनेछ”, उनले भने, “उपभोक्ताको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न मिल्दैन । उपभोक्ता पनि सजग हुन आवश्यक छ ।”

जिल्लामा दश स्थानीय तह छन् । उपभोक्ताले आफ्नो गाउँमा आएका दैनिक उपभोग्य सामग्रीको न मूल्य हेरेर खरिद गर्छन्, न त म्याद छ/छैन भनेर एकिन नै गर्छन् । गाउँमा बिक्री गर्न ट्याक्टरमार्फत पठाइएका चामल लगायत दैनिक उपभोग्य वस्तुको म्याद गुज्रिएको फेला पारेपछि नियन्त्रण गरिदिन अनुरोध गर्दा सम्बन्धित निकायले चासो नदिएको केपिलासगढी गाउँपालिका–१, फेदीका स्थानीय लक्ष्मण साम्पाङले आरोप लगाए । रासस