विजयपुर । सुनसरी प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क, इनरुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–४ स्थित बसचोकबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ पैदल हिँडिरहेका मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ३१ वर्षीय निरज माले र ३० वर्षीय दिपेश नेपालीलाई शंका लागेर खानतलासी गर्दा ब्राउन सुगर र प्रतिबन्धित औषधि बरामद भएको थियो ।
उनीहरूको साथबाट १.०८ ग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधिका ५४० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी, इटहरी उपमहानगरपालिका–५ स्थित तुलसा टोलबाट प्रहरीले अर्का एक जनालाई पनि लागूऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा २३ वर्षीय बसन्त खत्री रहेका छन्।
प्रहरीका अनुसार खत्रीको साथबाट ०.३६ ग्राम ब्राउन सुगर र नगद ४ हजार ९३५ रुपैयाँ बरामद भएको छ। तीनै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।