विजयपुर । सुनसरी प्रहरीले करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलीका लत्ताकपडासहित टेम्पो चालकलाई पक्राउ गरेको छ ।
बर्जु गाउँपालिका–१ स्थित गोपी चोक नजिकै हुलाकी राजमार्गबाट भारतबाट अवैध रूपमा ल्याउँदै गरिएको लत्ताकपडा प्रहरीले बरामद गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार को २ ह २७५१ नम्बरको टेम्पो जाँच गर्ने क्रममा भन्सार छलीका लत्ताकपडा फेला परेको थियो । प्रहरीले टेम्पो चालक मोरङको विराटनगर महानगरपालिका–११ का ३८ वर्षीय देवेन्द्र खड्कालाई नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद लत्ताकपडा, टेम्पो र खड्कालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहबी, सुनसरीमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

































