विजयपुर । पाँचथरमा खुकुरी, इन्सास राइफलको गोली र बारुदसहित एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रामचन्द्र साहका अनुसार फिदिम नगरपालिका–६, सिवाका ३२ वर्षीय सुसन तुम्प्रोक पक्राउ परेका हुन् । प्रहरीका अनुसार असोज ४ गते कुम्मायक गाउँपालिका–१ स्थित यासोक बजारमा तुम्प्रोकले धारिलो हतियार खुकुरी देखाएर धम्की दिएपश्चात खोजतलास गर्ने क्रममा उनलाई फेला पारी शरीर खानतलासी गरिएको थियो ।

खानतलासीका क्रममा डापसहितको खुकुरी दुई थान, इन्सास राइफलको लाइभ राउण्ड गोली एक थान र बारुद २७.७१ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । हतियार तथा विस्फोटक पदार्थसहित पक्राउ परेका तुम्प्रोकलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखिएको छ। उनीविरुद्ध खरखजाना तथा विस्फोटक पदार्थसम्बन्धी कसुरमा जिल्ला अदालत फिदिमबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।