विजयपुर । सुनसरी प्रहरीले ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका–४ स्थित बसचोकबाट तीन जना र धरान उपमहानगरपालिका–१९ गैरीगाउँबाट एक जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका–१ का २७ वर्षीय सुरज माझी, २० वर्षीय तोरण माझी र ३० वर्षीय मनिष माझीलाई शंकाका आधारमा खानतलासी गरिएको थियो । खानतलासीका क्रममा तोरण माझीको साथबाट ५.४९ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । बरामद पदार्थसहित तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ ।

यस्तै, धरान उपमहानगरपालिका–१९ गैरीगाउँमा लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले २३ वर्षीय पुजन श्रेष्ठलाई पक्राउ गरेको छ । श्रेष्ठको कोठामा खानतलासी गर्दा १.१३ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ ।