झापा । जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत जिल्लामा २ लाख ७० हजार २४६ जनालाई खोप लगाइएको छ ।

यो लक्ष्यको ५४ प्रतिशत रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार जिल्लाका १५ पालिकामध्ये मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ४० हजार ३१३ जनालाई खोप लगाइसकिएको छ । स्थानीय स्वास्थ्य चौकी र सार्वजनिक स्थलमा दक्ष स्वास्थ्यकर्मीद्वारा खोप लगाइरहेको उनले बताए । असोज ५ गते मेचीनगर नगरपालिकाबाट सुरु गरिएको खोप अभियानमा ३० वर्षभन्दा माथिका नागरिक सहभागी छन् ।

खोप अभियानमा नगरपालिकाअन्तर्गत अर्जुनधारामा १८ हजार ९ जना, कनकाईमा १७ हजार ९२८, शिवसताक्षीमा २० हजार ७६९, दमकमा ३५ हजार ६०५, गौरादहमा १९ हजार ६३६, विर्तामोडमा २८ हजार ६८० र भद्रपुर नगरपालिकामा १० हजार २०५ जनालाई खोप लगाइसकिएको छ ।

गाउँपालिकाअन्तर्गत कमल, झापा, गौरीगञ्ज, बाह्रदशी, हल्दिबारी, कचनकवल र बुद्धशान्तिमा पनि जेई विरुद्धको खोप लगाइएको छ । जिल्लामा चालु आवमा १३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख दासले जानकारी दिए । तीमध्ये सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोशी प्रदेशमा झापाबाट खोप अभियानको सुरुवात गरिएको छ ।

जिल्लामा ५ लाख ७० हजार खोप लगाउने लक्ष्य रहेको छ । खोप अभियानका लागि ५०० स्वास्थ्यकर्मी परिचालन गरिएको कार्यालय प्रमुख दासले जानकारी दिए । रासस