विजयपुर । सुनसरी प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका भोजपुर हतुवागढी गाउँपालिका–७ का राम राई र सुनसरी बराहक्षेत्र नगरपालिका–१ का पृथ्वी राईलाई पक्राउ गरिएको हो ।

जिल्ला अदालत सुनसरीको फैसलाअनुसार ज्यानसम्बन्धी कसुर तथा जबरजस्ती करणी मुद्दामा राम राईलाई ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना तोकिएको थियो । उनको मुद्दामा २०८१ फागुन २९ गते फैसला भएको प्रहरीले जनाएको छ । त्यस्तै, चोरी मुद्दामा पृथ्वी राईलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । जिल्ला अदालत सुनसरीले २०८० चैत २८ गते गरेको फैसलापछि उनी फरार रहेका थिए ।

प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ ।