विजयपुर । प्रहरीले १०१ ग्राम ब्राउन सुगरसहित १६ जनालाई पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार मोरङ, झापा र सुनसरीका विभिन्न स्थानबाट ब्राउन सुगर तथा गाँजासहित १३ जना पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको विराटनगर महानगरपालिका–११, अल्का मार्गबाट मात्रै १०१ ग्राम ५३० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्।
लागूऔषध बिक्री भइरहेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र सीआरभी केसलियाबाट खटिएको प्रहरी टोलीले भारतको अररिया, नरपतगञ्जका २३ वर्षीय मनोहर यादव, सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का २२ वर्षीय अर्बिन्द्र कुमार यादव र २३ वर्षीय अनिल कुमार यादवलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार शंकास्पद अवस्थामा फेला परेका उनीहरूको शरीर तथा साथमा रहेको सामान जाँच गर्ने क्रममा प्लास्टिकभित्र लुकाएर राखिएको अवस्थामा ब्राउन सुगर बरामद भएको थियो। झापाको दमकबाट चार जना ब्राउन सुगरसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले दमक–८ का दिपक कुमार साह, दमक–२ का निक्सल देवान, दमक–५ का राहुल गुरुङ र कमल गाउँपालिका–४ का अरुण राईलाई ३ ग्राम ५६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
सुनसरीको इटहरी उपमहानगरपालिका–१९ बाट अमन चौधरी ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्। प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। त्यस्तै, इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–३ का पुजन राजधामी, रमित राजधामी र समिर राजधामीलाई ८२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
मोरङको इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१८ बाट भारतको अररियाका प्रवेश कुमार साह र सुरेश कुमार साहलाई २४ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरेको छ। पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।

































