विजयपुर । सुनसरीमा प्रहरीले ५७ किलो गाँजासहित दुईवटा मोटरसाइकल बरामद गरेको छ ।
देवानगञ्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट गाँजा र मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुवै मोटरसाइकलका चालक भने फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगञ्ज गाउँपालिका–४ मेहता टोलमा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ५० एएच १९१३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ५१ किलो गाँजा फेला परेको हो ।
प्रहरी चेकिङ टोलीलाई देखेपछि मोटरसाइकल चालक सवारीसाधन छाडेर फरार भएका थिए । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर जाँच गर्दा कालो प्लास्टिकमा बेरिएको अवस्थामा गाँजा फेला पारेको जनाएको छ । देवानगञ्ज गाउँपालिका–६ स्थित रासी–साहेबगञ्ज जाने भित्री सडकखण्डबाट थप ६ किलो गाँजासहित अर्को मोटरसाइकल बरामद गरिएको छ ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्ति पनि मोटरसाइकल छाडेर फरार भएका थिए । प्रहरीले उक्त मोटरसाइकल नियन्त्रणमा लिएर जाँच गर्दा ६ किलो गाँजा फेला पारेको हो । दुवै घटनामा गरी प्रहरीले ५७ किलो गाँजा र दुईवटा मोटरसाइकल बरामद गरेको छ ।
































