काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित परिवारलाई आर्थिक सहयोगलगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ । सोसाइटीले बाढीको खोज तथा उद्धारपछि नगदसहित प्रतिकार्यका थप कार्यक्रम अगाडि बढाएको हो ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले हालै बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा सो घोषणा गरेका थिए ।
यसका लागि नेपाल रेडक्रस सोसाइटी र विदुर नगरपालिकाबीच बाढीको प्रतिकार्य, पुनर्लाभ तथा पुनःस्थापनाका लागि सहकार्य भएको छ । बाढीबाट प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्नुका साथै पुनर्लाभ, पुनःस्थापना र भविष्यमा हुनसक्ने विपद् एवं जलवायुजन्य जोखिमप्रति उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले साझेदारी सम्झौता गरिएको हो ।
विदुर नगरपालिकाको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा विदुर नगरप्रमुख राजन श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनाल, नेपालस्थित आइएफआरसीका नेपाल प्रमुख डेभिड फिसर र नेपाल रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा स्वास्थ्य सम्बन्धी सहायता, खानेपानी, सरसफाइ तथा स्वच्छता, आवास तथा आश्रय सहायता, मर्मत तथा पुनःस्थापना, जीविकोपार्जन तथा आर्थिक पुनर्लाभ, नगद सहायता तथा आवश्यकतामा आधारित आर्थिक सहयोग र विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा समुदायको उत्थानशीलता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्ने उल्लेख छ । रेडक्रसद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।
सम्झौताअनुसार रेडक्रसले बाढीका कारण बेपत्ता भएका परिवारका एकल महिला, अभिभावक गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ तथा दुई हजार घरधुरीलाई बहुउद्देश्यीय नगद सहायता १५ हजार रुपैयाँ उपलब्ध गराउनेछ ।
यसैगरी, एक हजार परिवारलाई जीविकोपार्जन पुनःस्थापना सहायता, दुई हजार घरधुरीलाई स्थायी आवासको व्यवस्था नभएसम्म घरभाडा भुक्तानी तथा ६०० घरधुरीलाई सङ्क्रमणकालीन आवासको व्यवस्था रेडक्रसले गर्ने समझदारीपत्रमा उल्लेख छ ।
यसैगरी, रेडक्रसले बाढीका कारण प्रभावित विदुर खानेपानी आयोजनाको साढे सात किलोमिटर पाइपलाइन मर्मत गर्नुका साथै विदुर, बुधसिँघाट, सिर्खाली र महारानिडिही क्षेत्रमा ३० हजार जनसङ्ख्या लाभान्वित हुने गरी खानेपानी प्रणालीको मर्मत तथा पुनःस्थापना गर्नेछ ।
यस्तै, स्वास्थ्य तथा सामाजिक पूर्वाधारको पुनर्निर्माण तथा पुनःस्थापना, आधारभूत स्वास्थ्य तथा आपत्कालीन स्वास्थ्य सेवा, विद्यालय तथा शैक्षिक पूर्वाधारको पुनःस्थापना, शिविर व्यवस्थापन तथा प्रभावित व्यक्तिलाई सहयोगलगायतका क्षेत्रमा रेडक्रसले काम गर्ने समझदारीपत्रमा उल्लेख छ ।
समझदारी अन्तर्गतका कार्यक्रम तथा गतिविधिको समन्वय, मार्गदर्शन, अनुगमन तथा समीक्षा गर्न नगरप्रमुख वा नगरप्रमुखले तोकेको प्रतिनिधिको संयोजकत्वमा संयुक्त समन्वय तथा कार्यक्रम सञ्चालन समिति गठन गरिनेछ ।
सो अवसरमा रेडक्रसका महामन्त्री खनालले बाढी प्रभावित क्षेत्रका नागरिकलाई बहुपक्षीय सहयोग गर्न रेडक्रस निरन्तर सक्रिय रहने जनाउँदै निर्धारित कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र रेडक्रसका संरचनाबीच प्रभावकारी समन्वयमा जोड दिएका छन् ।
आइएफआरसीका नेपाल प्रमुख फिसरले मानवीय सहयोग निरन्तर जारी रहने जानकारी दिँदै यस सहकार्यले अकल्पनीय बाढीको प्रतिकार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
विदुर नगरप्रमुख श्रेष्ठले प्रभावित क्षेत्रमा सहयोग गर्ने रेडक्रसको तत्परता र सक्रियताले बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा नागरिकको सहज जीवनयापनका लागि महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले विपद्लाई अवसरका रूपमा समेत लिँदै रेडक्रससँगको प्रभावकारी सहकार्यमार्फत विपद्को पीडालाई बिर्साउने दिशामा स्थानीय तह सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस
































