विजयपुर। भारतको आन्दोलनमा पक्राउ परेकाले रिहा गर्न कोक्रोएच ड्रिम पार्टी (सिडिपी)  नेपालले माग गरेको छ । 

भारतमा रोजगारी, शैक्षिक सुधार तथा लोकतान्त्रिक अधिकारको माग गर्दै  युवा तथा विद्यार्थीले आन्दोलन गरिरहेका छन् । उक्त  आन्दोलनप्रति कोक्रोएच ड्रिम पार्टी नेपालले समर्थन जनाउँदै प्रदर्शनकारीमाथिको दमन रोक्न र पक्राउ परेकाहरूलाई रिहा गर्न माग गरेको छ।

पार्टीका उच्च कमाण्ड दिप पौडेलले शनिबार विज्ञप्ति जारी गरि भारतको नयाँ दिल्लीलगायत क्षेत्रमा कोक्रोएच जनता पार्टीको ब्यानरमा भइरहेको युवा तथा विद्यार्थी आन्दोलन र त्यसक्रममा प्रदर्शनकारीमाथि भएको भनिएको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

पार्टीले कोक्रोएच जनता पार्टीका संस्थापक अभिजीत दिपके, शीर्ष नेताहरू सौरभ दास, आशुतोष रांका तथा विद्यार्थी नेतृ नेहा बोरा लगायत सयौँ युवा तथा विद्यार्थी नेताहरूलाई दिल्ली प्रहरीले हिरासतमा लिएको घटनाको विरोध गरेको छ। पक्राउ परेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई तत्काल ससर्त रिहा गर्न माग गरिएको छ।

कोक्रोएच ड्रिम पार्टी नेपालले आन्दोलनलाई केवल राजनीतिक विषयका रूपमा मात्र नहेरी विद्यार्थी तथा नयाँ पुस्ताको भविष्यसँग जोडिएको विषयका रूपमा लिन आग्रह गरेको छ। परीक्षाका प्रश्नपत्र चुहावट अन्त्य, निष्पक्ष परीक्षा प्रणाली, पर्याप्त रोजगारीका अवसर तथा शैक्षिक सुधारका माग तत्काल सम्बोधन गर्नुपर्ने पार्टीको भनाइ छ।

त्यस्तै, प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग, इन्टरनेट सेवा बन्द तथा महिला अधिकारकर्मीमाथि दुर्व्यवहार भएको दाबी गर्दै पार्टीले मानव अधिकारको सम्मान गर्न भारत सरकारसँग आग्रह गरेको छ। नागरिकको मौलिक स्वतन्त्रता सुनिश्चित गर्दै आन्दोलनमाथिको दमन तत्काल रोक्नुपर्ने उसको माग छ।

पार्टीले युवा आन्दोलनमा भारतीय कांग्रेसका नेता राहुल गान्धी, विपक्षी इन्डिया गठबन्धन तथा विभिन्न वामपन्थी दलहरूले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न हस्तक्षेप गरेको आरोपसमेत लगाएको छ। युवाहरूको स्वतन्त्र आन्दोलनलाई राजनीतिक दलहरूले आफ्नो निर्वाचन स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने पार्टीको भनाइ छ।

कोक्रोएच जनता पार्टीलाई आफ्नो स्वतन्त्र पहिचान कायम राख्न तथा बाह्य राजनीतिक दलहरूको प्रभावबाट जोगिन पनि कोक्रोएच ड्रिम पार्टी नेपालले आग्रह गरेको छ।

पार्टीले आन्दोलनकारी युवा र भारत सरकार दुवै पक्षलाई संयमता अपनाउन तथा हिंसा र तोडफोडबाट टाढा रहन अपिल गरेको छ। सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै वार्ताका माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्ने उसको भनाइ छ।

‘युवाहरू किरा–फट्याङ्ग्रा वा परजीवी होइनन्, उनीहरू देश निर्माणका मेरुदण्ड हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘युवाहरूको स्वाभिमानको कदर गर्दै समस्याको व्यवहारिक र शान्तिपूर्ण निकास खोजिनुपर्छ।’

लामो समयको अशान्तिले आम नागरिकको दैनिक जीवन तथा राष्ट्रिय सुरक्षामा असर पार्न सक्ने भन्दै पार्टीले भारतमा तत्काल शान्ति र अमनचैन कायम गर्न आन्दोलनकारी र सरकार दुवै पक्षसँग आग्रह गरेको छ।