विजयपुर । सुनसरीको इटहरीमा होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले साढे ४ लाख रुपैयाँभन्दा बढी नगदसहित आठ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा जुवातास खेल भइरहेको विशेष सूचनाका आधारमा सोमबार साँझ प्रहरीले छापा मारेको थियो ।
वडा प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय इटहरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले होटलमा जुवाको खालबाट आठ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले जुवाको खालबाट ४ लाख ५६ हजार १ सय ८० रुपैयाँ नगद र ७ बुङ तास बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा इटहरी–१ का ३७ वर्षीय मोहन घिमिरे र ३९ वर्षीय युवराज मगर, इटहरी–८ का ४२ वर्षीय मनोज राई र ५२ वर्षीय ईश्वर कार्की तथा इटहरी–४ का ४० वर्षीय टिकाराम गेलाल, ४० वर्षीय जीवन अधिकारी, ४३ वर्षीय दुर्गाप्रसाद थापा र ४२ वर्षीय खगेन्द्र लिम्बू रहेका छन् ।
पक्राउ परेका आठै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।































