विराटनगर । सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको अनुमति प्राप्त गाडीलाई १० दिनदेखि नियन्त्रणमा लिएपश्चात् ‘नियन्त्रण’ को औचित्यमाथि प्रश्न उठ्न थालेको छ । 

गाडीधनीले पत्रकार सम्मेलन गरी सशस्त्रको नियतमाथि प्रश्न उठाएका छन् । यता सशस्त्रले भने शङ्कास्पद गतिविधि गरेको भन्दै नियन्त्रणमा लिएको जनाएको छ । गाडीधनीले भन्सार प्रक्रिया पूरा गरिसक्दा पनि स्पष्ट कारण र कानुनी आधार नखुलाई गाडी रोकेको जनाएको छ । 

भन्सारबाट अस्थायी पैठारी अनुमति लिएको दाबी गाडीधनी पक्षको छ भने शस्त्र प्रहरीले चेकजाँचका क्रममा भागेको र नेपाल प्रवेश तथा भन्सार प्रक्रिया पूरा गर्ने गतिविधि शङ्कास्पद देखिएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ । 

सशस्त्र प्रहरीले गत असोज ३१ गते बीआर ३८ एपी ८२८६ नम्बरको गाडी नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गूलम रानीको टोलीले भन्सारको १ नम्बर ढाटबाट गाडी नियन्त्रणमा लिएको हो । उक्त गाडी हाजरत अलीको नाममा रहेको प्रहरीले जनाएको छ । हाजरतका आफन्त भनेर चिनाउने विराटनगर–१४ का सबरुन खातुन र गाडीका चालक सुरेशकुमार यादवले पत्रकार सम्मेलन गरेर प्रहरीको नियतमाथि नै प्रश्न उठाएका हुन् । उनीहरू विराटनगरमा कपडा तथा खाद्यान्न ढुवानीको क्यारिङको काम गर्ने गरेको प्रहरी बताउँछ । 

“भन्सार प्रक्रिया पूरा गरेर अनुमति लिइसकेपछि पनि गाडी १० दिनसम्म रोकिएको छ” गाडी चालक यादवले पत्रकार सम्मेलनमा भने, “कुन कानुन उल्लङ्घन भयो, के प्रमाण भेटियो र कुन प्रक्रियाअन्तर्गत गाडी नियन्त्रणमा लिइएको हो भन्ने स्पष्ट जानकारी दिइएको छैन । त्रुटि भएको भए प्रमाणका आधारमा कारबाही होस्, तर विनाकारण दुःख दिन पाइँदैन ।” उनीहरूले प्रस्तुत गरेको प्रमाणका आधारमा असोज ३१ गते दिउँसो ३ बजेर २७ मिनेटमा भन्सारबाट अनुमति लिएको देखिएको छ । 

यता सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले गाडीको गतिविधि शङ्कास्पद देखिएकाले नियन्त्रणमा लिनुपरेको बताए । प्रहरीले सोही दिन दिउँसो ४ बजेर २८ मिनेटमा विराटनगर–१८ मटेरुवामा खटिएको सशस्त्र प्रहरी टोलीले गाडी चेकजाँचका लागि रोकेको थियो । सोही समयमा चालकले कागजात देखाउनुको सट्टा गाडी लिएर भागेको सशस्त्र प्रहरीको दाबी छ ।

चालक यादव यसअघि रजनीगन्धा ल्याउने क्रममा पक्राउ परेका थिए भने भन्सार कार्यालयमा धरौटी बुझाएर रिहा भएका थिए ।