धनकुटा । धनकुटा जिल्ला अस्पतालमा सोमबारदेखि निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सुरु भएको छ ।
आर्थिक अभावका कारण शल्यक्रिया गराउन नसकेका बिरामीलाई लक्षित गरी ६ दिने शिविर सञ्चालन गरिएको हो । शिविरको सङ्घीय सांसद एवम् प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राई, कोशी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुली, प्रदेशसभा सदस्य निरन राई, संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र प्राविधिक सहयोग गर्दै आएको अलोहा हवाई मेडिकल मिसनका टोलीका चिकित्सक क्रिस्टोफर क्लेमले संयुक्त रूपमा उद्घाटन गरे ।
अलोहा मेडिकल मिसन हवाई, अमेरिकाको प्राविधिक सहयोगमा यही कात्तिक १४ गतेसम्म शिविर सञ्चालन हुने भएको हो । शिविरमा स्त्रीरोग, हर्निया, हाइड्रोसिल, पायल्स, पित्तथैलीको पत्थरी लगायतको शल्यक्रिया गरिने जनाइएको छ । यस्तै घाँटीसम्बन्धी समस्याको उपचार पनि प्रदान गरिने भएको छ । शिविरमा अमेरिकाबाट डा. क्रिस्टोफर क्लेम र डा. विकास गुप्ताले नेतृत्व गरिरहेका छन् ।
शिविर सञ्चालन तथा व्यवस्थापन मूल समितिका संयोजक रोशेष श्रेष्ठका अनुसार शिविरबाट सामान्य तथा जटिल शल्यक्रियाका साथै स्वास्थ्य परीक्षण (स्क्रिनिङ) पनि गरिने भएको छ । जहाँ एक हजार ५ सयभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिने लक्ष्य राखिएको छ । अलोहाले यसअघि पनि धनकुटामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको थियो ।































