विजयपुर । चक्रवात ‘मोन्था’को प्रभावका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार चक्रवातको प्रभावले सुनसरीसहित विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो र डुबानको जोखिम हुनसक्ने प्रशासनले जनाएको छ।

प्रशासनले नदी तथा खोला किनार, पहिरोको जोखिममा रहेका क्षेत्र तथा डुबान हुनसक्ने स्थानमा नजान र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। सम्भावित विपद्का घटनामा उद्धार तथा राहतका लागि सम्बन्धित सुरक्षा निकायसँग आवश्यक समन्वय गर्नसमेत अनुरोध गरिएको छ।

अत्यावश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न प्रशासनले सुझाव दिएको छ। यात्रा गर्नैपर्ने अवस्था भए सुरक्षित तथा भरपर्दो उपाय अपनाउनसमेत आग्रह गरिएको छ।

त्यसैगरी, मौसम पूर्ण रूपमा नखुलेसम्म धान नकाट्न तथा काटिसकेको धान सुरक्षित स्थानमा राख्न प्रशासनले अनुरोध गरेको छ। बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिनसमेत भनिएको छ।

प्रशासनले पशुचौपाया, खाद्यान्न, औषधि, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न पनि आग्रह गरेको छ।

मौसम विज्ञान विभाग, संघीय तथा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक मौसम पूर्वानुमान, पूर्वसूचना तथा चेतावनी नियमित रूपमा लिन र सम्बन्धित निकायका निर्देशन पालना गर्न प्रशासनले जिल्लावासीलाई आग्रह गरेको छ।

सम्भावित विपद्लाई मध्यनजर गर्दै सुनसरीका स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवालालाई विपद् पूर्वतयारी अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक समन्वय गर्नसमेत प्रशासनले निर्देशन दिएको छ।