विजयपुर । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ ।
राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम स्थापना भई सञ्चालनमा रहेको संस्थाले सरकारको निर्देशन पटक–पटक उल्लङ्घन गरेको तथा स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीत गतिविधि गरेको भन्दै मन्त्रालयले निलम्बन गरेको सूचना निकालेको छ ।
गृह मन्त्रालयले २०८३ साल कात्तिक १३ गते पहिलोपटक प्रकाशित गरेको सूचनामा एन–प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयबाट जारी गरिएका निर्देशनहरू बारम्बार पालना नगरेको उल्लेख गरेको छ । त्यस्तै, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका कार्यसमेत गरेको मन्त्रालयको ठहर गरेको छ ।
मन्त्रालयका अनुसार सम्बन्धित सरोकारवाला पक्षहरूसँग २०८३ साल असोज २३ गते छलफल गरिएको थियो । छलफलका क्रममा राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ साल मङ्सिर १२ गते जारी गरेको निर्देशनअनुसारका कार्य गर्न आग्रह गरिएको थियो । तर, पटक–पटक निर्देशन दिँदा पनि त्यसको पालना भएको नदेखिएपछि मन्त्रालयले संस्थामाथि निलम्बनको निर्णय लिएको सूचनामा उल्लेख छ ।
राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम अर्को निर्णय नभएसम्मका लागि एन–प्याब्सनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ । यससँगै संस्थाको आधिकारिक हैसियतमा हुने गतिविधिमाथि रोक लगाइएको छ । त्यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।


































