विजयपुर । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित बसचोकबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पश्चिमबाट पूर्वतर्फ पैदल आइरहेका दुई जनालाई शंकाका आधारमा चेकजाँच गर्ने क्रममा ब्राउन सुगर फेला परेको हो । प्रहरीका अनुसार उदयपुरको बेलका नगरपालिका–४ निवासी ३२ वर्षीय नवीन राईको मलद्वारबाट १७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा नवीन राईसँगै सोही स्थानका २९ वर्षीय सुमन राईलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

































