दमौली । प्रथम व्यास मेयर कप फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–१ ले जितेको छ । व्यास नगरपालिका नगर खेलकुद समितिको आयोजनामा मङ्गलबार व्यास–३ स्थित बिपी वनवाटिका खेलमैदानमा सम्पन्न फाइनल खेलमा व्यास–८ लाई १–० गोलअन्तरले पराजित गर्दै व्यास–१ ले पहिलो संस्करणको उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा व्यास–१ ले व्यास–८ विरुद्ध निर्णायक गोल गर्दै उपाधि चुमेको थियो । उपाधिसँगै व्यास–१ ले नगद एक लाख प्राप्त गरेको छ । उपविजेता बनेको व्यास–८ ले नगद  ७५ हजारमा चित्त बुझाएको छ ।

प्रतियोगितामा व्यास–१ र व्यास–८ ले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गरेका थिए । व्यास–८ ले सेमिफाइनलमा व्यास–७ लाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने व्यास–१ ले व्यास–६ लाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।

व्यास नगरपालिकाका १४ वटै वडाको सहभागिता रहेको प्रतियोगिताले स्थानीयस्तरमा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा वडाबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको आयोजकले विश्वास गरेको छ ।

प्रतियोगिताको समापनका अवसरमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । खेलकुदले युवाको प्रतिभा प्रस्फुटन गराउनुका साथै अनुशासन, एकता र स्वस्थ समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

त्यस्तै, व्यास–६ का वडाध्यक्ष एवं नगर खेलकुद समितिका अध्यक्ष जीवन गुरुङले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेलाडी, प्रशिक्षक, जनप्रतिनिधि, रेफ्री, आयोजक तथा खेलप्रेमी सबैलाई धन्यवाद व्यक्त गरे । रासस