तिहार फूलैफूलको पर्व हो । दिदीबहिनीले दाजुभाइको गलामा सयपत्री र मखमलीका माला पहिर्‍याउने यो पर्व नेपालीको सांस्कृतिक र भावनात्मक सम्बन्धसँग जोडिएको छ । तर, तिहारको रौनकसँगै नेपाली पुष्प किसानका लागि आफ्नो उत्पादनको बजार सुरक्षित गर्ने चुनौती पनि थपिएको छ । एकातिर किसान ऋण र ठूलो लगानी गरेर फूल उत्पादन गरिरहेका छन् भने अर्कोतिर भारतबाट अवैधरुपमा भित्रिने सस्तो फूलले उनीहरुको मिहिनेतमाथि धावा बोलिरहेको छ । मोरङ र झापामा पछिल्ला दिनमा भएका फूल बरामदका घटनाले यो समस्या गम्भीर बन्दै गएको देखाएका छन् । नेपाली किसानको उत्पादन राम्रो हुँदाहुँदै पनि भारतीय फूलको अवैध प्रवेशले बजार खोस्ने चिन्ताले उनीहरु पिरोलिएका छन् । झापाको शिवसताक्षीमा सामूहिक फूलखेती गरिरहेका महिलाको समस्या पनि उस्तै छ । गाउँमै रोजगारी र आम्दानीको स्रोत बनाएको फूलखेतीले उचित बजार नपाए उनीहरुको लगानी र आगामी वर्ष खेती विस्तार गर्ने उत्साह प्रभावित हुनेछ । मोरङ र झापामा पछिल्ला दिनमा मात्रै करिब ५९ लाख ४५ हजार रूपैयाँ बराबरको अवैध सयपत्री फूल तथा माला बरामद भएका छन् । भारतबाट सिटी सफारी र साना सवारीसाधनमार्फत् फूल भिœयाएर शीतभण्डारमा राखी तिहारको मुख्य समयमा बिक्री गर्ने गरिएको सुरक्षा निकायको अनुसन्धानले देखाएको छ । यसले अवैध व्यापारको सञ्जाल सीमाबाट बजारसम्म फैलिएको आशङ्का बलियो बनाएको छ । भन्सार प्रक्रिया र आवश्यक कानुनी मापदण्ड छल्दै फूल भिœयाउनु आर्थिक अनियमितता मात्र होइन, जैविक सुरक्षाका दृष्टिले पनि जोखिमपूर्ण छ ।

नेपालमा पुष्पखेती व्यावसायिक कृषि र ग्रामीण रोजगारीको सम्भावनायुक्त क्षेत्र बन्दै गएको छ । विशेषगरी तिहार र छठमा सयपत्रीको माग उच्च हुन्छ । यसले साना किसान तथा महिला समूहलाई आत्मनिर्भर बन्ने अवसर दिएको छ । तर, स्वदेशी किसानले उत्पादन लागतअनुसार मूल्य नपाउने र अवैध रुपमा भित्रिएको सस्तो फूलसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएमा पुष्पखेतीप्रतिको आकर्षण घट्नेछ । यसले आयात प्रतिस्थापन र कृषि आत्मनिर्भरताको लक्ष्यसमेत कमजोर बनाउँछ । फूल आयातमा अतिरिक्त सर्त लागू गर्नुको उद्देश्य स्वदेशी उत्पादनको संरक्षणसँगै रोग, जीवाणु तथा हानिकारक कीरा भित्रिन नदिनु पनि हो । राष्ट्रिय प्लान्ट क्वारेन्टिन तथा बायोसेक्युरिटी केन्द्रले जैविक सुरक्षाको जोखिमलाई ध्यानमा राखेर भारतबाट आउने सयपत्री फूलमा अतिरिक्त सर्त लागू गरेको जनाएको छ । त्यसैले सरकारले बनाएको मापदण्डको कार्यान्वयनमा कुनै सम्झौता हुनु हुँदैन । सीमामा फूल बरामद गरेर नष्ट गर्नु मात्रै तस्करी नियन्त्रणको पर्याप्त उपाय होइन । फूल कहाँबाट भित्रिन्छ, कसले ल्याउँछ, कहाँ भण्डारण हुन्छ र बजारमा कसले बिक्री गर्छ भन्ने सम्पूर्ण सञ्जालको अनुसन्धान हुनुपर्छ । सीमा सुरक्षा, भन्सार, कृषि क्वारेन्टिन र स्थानीय प्रशासनबीच समन्वय बढाउनु पर्छ । शीतभण्डार तथा फूल बिक्री केन्द्रको नियमित अनुगमन गरी तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउनु पर्दछ । 

अर्कोतर्फ, स्वदेशी किसानको संरक्षण अवैध आयात रोक्नमै सीमित हुनु हुँदैन । किसानलाई गुणस्तरीय बिउ, प्राविधिक सहयोग, सिँचाइ, शीतभण्डारण र बजार व्यवस्थापनमा सहुलियत दिनुपर्दछ । प्राकृतिक विपत्तिबाट हुने क्षतिमा कृषि बिमा र राहतको व्यवस्था प्रभावकारी बनाउनु पर्दछ । तिहारमा नेपालीका घरआँगन स्वदेशी फूलले सजिऊन् भन्ने चाहना सांस्कृतिक भावनासँगै आर्थिक स्वार्थ पनि हो । किसानको पसिना र लगानीले उत्पादन गरेको फूलले बजार नपाउने तर अवैध बाटोबाट आएको फूलले बजार कब्जा गर्ने अवस्था स्वीकार्य हुन सक्दैन । स्वदेशी उत्पादनको संरक्षण गर्नु किसानको लगानी जोगाउनु, ग्रामीण रोजगारी बढाउनु र राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनु हो । त्यसैले तिहारको फूल बजारलाई तस्करीमुक्त बनाउन सरकार कठोर बन्नु पर्दछ ।