धनकुटा । धनकुटामा तास खेलिरहेको अवस्थामा प्रहरीले तीन महिलासहित नौ जनालाई विहिवार साँझ पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका-५ देवनटारस्थित मेनकुमारी लिम्बुको घरमा तास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले विहिवार साँझ ५:३० बजे तास खेलिरहेको अवस्थामा खुल्ला एक बुङ ताससहित नगद २४ हजार ५ सय रुपैयाँ बरामद गरेको जनाएको छ ।

पक्राउ पर्नेमा शहिदभूमि गाउँपालिका-५ का ४५ वर्षीय महेशकुमार राई र ५२ वर्षीय मोहनचन्द्र राई, धनकुटा नगरपालिका-६ का ३० वर्षीय कुमार राई, धनकुटा-७ का ५१ वर्षीय भोगेन्द्र राई, धनकुटा-५ का ४५ वर्षीय बलबहादुर राई, सोही स्थानकी ३६ वर्षीया सोमकुमारी लिम्बु, ५० वर्षीया तिर्थ लिम्बु, ३७ वर्षीया मेनकुमारी लिम्बु र धनकुटा नगरपालिका-२ का २८ वर्षीय शुक्र राई रहेका छन् ।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको प्रहरीले जनाएको छ ।