विजयपुर । मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ ले जुवा खेल्न र खेलाउन निषेध गरेको छ ।

कानुनले जुवालाई अपराध मानेर दण्डनीय व्यवस्था गरे पनि धरानमा जुवाजन्य खेलका रूपमा चिनिने ‘डाइस’ खेलले व्यापकता पाएको स्थानीयले गुनासो गर्दै आएका छन् । चोक–चोकमा डाइस खेलाइरहे पनि यहाँको प्रहरी प्रशासन भने रमिते बनेको स्थानीयको आरोप छ ।

धरान उपमहानगरपालिकाले समेत डाइसलगायत जुवाजन्य खेल खेल्ने, खेलाउने कार्य नगर्न र नगराउन सूचना निकालेको थियो । सूचनामा जुवाजन्य खेलहरू खेल्ने, खेलाउने, खेल्न लगाउने वा त्यस्ता गतिविधिलाई सहयोग गर्ने कार्य नगर्नु÷नगराउनु हुन सम्बन्धित सबै व्यक्ति, सङ्घ–संस्था तथा सरोकारवालालाई जानकारी गराएको उल्लेख छ । ‘सूचनालाई बेवास्ता गरी हाउजी, डाइस, जुवातासलगायतका जुवाजन्य गतिविधि सञ्चालन गरेको, खेलाएको वा त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बेहोरा उल्लेख छ । तर, धरानमा माछाभौडी, महादेव चोक, रेल्वे चोक, फोकल्याण्ड, अन्नपूर्ण चोक, गणेशमान चोक, देउराली, पानबारीलगायतका क्षेत्रमा खुलेआम डाइस खेलाइरहेको पाइएको छ । स्थानीयका अनुसार लाखौँको खेलवाड हुने गरेको छ ।

स्थानीयका अनुसार डाइस खेलका कारण हो–हल्ला र झैँझगडासमेत हुने गरेको छ । केही दिनअघि धरान–१७ रेल्वे चोकमा डाइसकै कारण झगडा परेको स्थानीयले बताए । तर, इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबू राईले डाइस खेल पूर्णरूपमा बन्द भएको दाबी गरेका छन् । उनले भने, “धरानमा ५ दिनदेखि डाइस पूर्णरूपमा बन्द छ । बच्चाहरूले कतै गल्लीतिर खेलाइरहेका छन् भने मात्र हो । अन्य क्षेत्रमा पूर्ण नियन्त्रण छ ।”  शुक्रबार प्रहरीले जुवाजन्य खेल पूर्ण रूपमा बन्द गरेको दाबी गरेको थियो तर शनिबार पनि माछाभैली लगायतका स्थानमा सञ्चालन भइरहेको पाइएको छ ।

कतिपय स्थानीयले त प्रहरीकै संरक्षणमा डाइस खेल भइरहेको बताएका छन् । उनीहरू प्रहरीले रकम लिएर नियन्त्रण नगरेको आरोपसमेत लगाएका छन् । एक टोल विकास संस्थाका अध्यक्षले भने, “प्रहरीले किन डाइस नियन्त्रण गरिरहेको छैन ? रकम लिएर त होला ।” कतिपय स्थानीयले प्रहरीले इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपीले नै रकम लिएर नियन्त्रण नगरेको आरोप लगाएका छन् । उनीहरूका अनुसार प्रत्येक स्थानबाट दैनिक १० हजार इलाका प्रहरी कार्यालयले र प्रहरी चौकीले २ हजार लिने गरेको आरोप छ । यस आरोपबारे जिज्ञासा राख्दा डिएसपी राईले भने अस्वीकार गरेका छन् । उनले भने, “प्रहरी टोली पुग्दा खेल बन्द गरेर खेलाउने र खेल्नेहरू लुक्छन्, प्रहरी गएपछि फेरि सुरु गर्छन् । त्यसैले स्थानीयले कारबाही नगरेको, रकम लिएको आरोप लगाउँछन् । रकम लिएर नियन्त्रण नगरेको भन्ने कुरामा सत्यता छैन ।”

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले पनि धरानको विषयमा पटक–पटक गुनासो आएको बताए । उनले भने, “धरानका विषयमा पटक–पटक गुनासो आएपश्चात् जिल्ला प्रहरीलाई एक्सन लिन भनिसकिएको छ । डिआइजी सा’पलाई पनि थाहा छ ।” उनले थपे, “पैसा लिएर होस् वा नलिएर होस्, जुवाजन्य खेल खेल्न खेलाउन हुँदैन ।” पैसा लिएर खेल्न दिएको जनगुनासो छ त भन्ने ब्लाष्टको जिज्ञासामा प्रवक्ता थापाले भने, “त्यही विषयमा विशेष टोलीले गोप्यरूपमा काम गरिरहेको छ ।”

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख पुष्पराज मल्लले विभिन्न ठाउँमा जुवासमेत खेल्छन् भन्ने कुरा पनि आएको बताए । उनले भने, “विशेष टोली खटाएर अप्रेसन गर्छौं ।” उनले थपे, “नतिजा आएपछि देखिन्छ । आर्थिक चलखेलको विषयमा क–कसको संलग्नता छ, त्यो पनि आउला ।”

धरान–१५ पिण्डेश्वरी टोल विकास संस्थाका अध्यक्ष दीपक राईले प्रहरीले गोपनीयता भङ्ग गरेको बताए । उनले भने, “डाइस खेलाएको सूचना दिँदा प्रहरीले नै गोपनीयता भङ्ग गरी मेरो परिचय दिएछ । त्यसपश्चात् मेरो घरमा राति केटाहरू हतियारसहित आए । पछि बुझ्दा ती केटाहरूलाई डाइस खेलाउनेले पठाएको रहेछ ।” “जुवाजन्य खेल खेल्न रोक्ने निकाय प्रहरीले सूचना दिनेको गोपनीयता के स्वार्थले भङ्ग गर्यो ?” उनले ब्लाष्टसँग भने । टोल विकास संस्था (टिएलओ) अध्यक्ष राईले राति आफ्नो घरमा हतियारसहित आउनेविरुद्ध उजुरी दिएको र त्यसपश्चात् प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएकोसमेत बताए ।

दसैँ अगावैदेखि धरानमा खुलेआम डाइस खेलहरू भइरहेका छन् । दैनिक लाखौँको कारोबार भइरहेको स्थानीयको भनाइ छ । डाइसकै कारण टोलटोलमा झैँझगडा पनि भइरहेको पिण्डेश्वर टोलविकास संस्थाका अध्यक्ष राईले जानकारी दिए । गृहमन्त्री सुदन गुरुङका निकट मानिएका डिएसपी राईले धरानमा भइरहेका जुवाजन्य खेल नियन्त्रणमा बेवास्ता गरेको नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्व अध्यक्ष आनन्द श्रेष्ठले बताएका छन् । “धरानको शान्ति सुरक्षाभन्दा पनि सरुवा हुने बेलामा धरानका प्रहरी प्रमुख कमाउ धन्दामा लागेजस्तो देखिन्छ । धरानमा भइरहेको जुवाजन्य खेल तमासा र स्थानीय प्रहरी प्रशासनको लापरबाहीबारे गृहमन्त्रालयको ध्यानाकर्षण होस्”–श्रेष्ठले भने ।

१८ पक्राउ, चार जनाविरुद्ध मुद्दा

धरानमा डाइस खेलाउने १८ जना पक्राउ गरेकोमा चार जनाविरुद्ध मुद्दा दायर गरेको डिएसपी राईले बताएका छन् । उनका अनुसार धरान–११ विष्णु चोकका २५ वर्षीय मन्दिप राई, १८ वर्षीय दिपेन लिम्बू, धरान–१३ का ३८ वर्षीय हाङराज एक्तेन र ४२ वर्षीय जय श्रेष्ठविरुद्ध मुद्दा चलाइएको छ ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (२) उपदफा (१) (क) मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । (ख) मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना व्यवस्था छ ।