विजयपुर । सुनसरी प्रहरीले गाँजा र ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले छुट्टाछुट्टै स्थानबाट ६२ किलो २४० ग्राम गाँजा र ३.६२ ग्राम ब्राउन सुगर बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–५ रामजानकी टोलस्थित युवराज भुजेलको घरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार ३९ वर्षीय घरधनी युवराज भुजेल र सोही स्थानका ४० वर्षीय पोष्टकुमार विश्वकर्माको साथबाट ३.६२ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
देवानगञ्ज गाउँपालिका–३ स्थित भित्री सडकखण्डबाट ६२ किलो २४० ग्राम गाँजासहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्जबाट कप्तानगञ्जतर्फ जाँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकल जाँच गर्ने क्रममा २२ वर्षीय नित्यानन्द यादवलाई पक्राउ गरेको हो । यादवले मोटरसाइकलमा लोड गरी लैजाँदै गरेको अवस्थामा ३१ किलो १०० ग्राम गाँजा फेला परेको थियो ।
प्रहरीले थप जाँच गर्ने क्रममा सडकछेउको झाडीमा लुकाइराखेको अवस्थामा थप ३१ किलो १४० ग्राम गाँजा बरामद गरेको थियो । बरामद गाँजाको कुल तौल ६२ किलो २४० ग्राम रहेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा र मोटरसाइकलसहित यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
यसैबीच, सार्वजनिक सम्पत्ति डाँका मुद्दामा ७१४ दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रकाशपुरबाट खटिएको टोलीले बराहक्षेत्र नगरपालिका–९ का २८ वर्षीय नोयनकुमार चन्द्रवंशीलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
सुनसरी जिल्ला अदालत इनरुवाको २०८० फागुन २० गतेको फैसलाअनुसार चन्द्रवंशीले ७१४ दिन कैद भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको प्रहरीले जनाएको छ ।
































