झापा । झापाको भद्रपुरबाट अवैध रूपमा आयात गरिएको २५ लाख ६३ हजार रुपैयाँभन्दा बढी मूल्यको भारतीय फूलमाला सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
आइतबार सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणबाट खटिएको गस्ती टोलीले भद्रपुर नगरपालिका–५ स्थित देवीबस्ती क्षेत्रबाट उक्त फूलमाला बरामद गरेको हो ।
गणपति सचिन कर्माचार्यका अनुसार बरामद फूलमालाको मूल्य २५ लाख ६३ हजार ४०० रुपैयाँ रहेको छ । बरामद गरिएका सयपत्रीलगायतका फूलमालालाई गणको कार्यालय परिसरभित्र खाल्डो खनेर पुरेर नष्ट गरिएको उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय झापाले तिहारका लागि स्थानीय किसानले उत्पादन गरेको फूल नै पर्याप्त हुने भन्दै भारतीय फूलमाला आयात नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार अवैध रूपमा भित्र्याइएका फूलमाला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।
































