झापा । सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट ३९ लाख ७८ हजार ७०० रुपैयाँ मूल्य बराबरको अवैध भारतीय फूलमाला बरामद गरेको छ।

काँकडभिट्टा, भद्रपुर र केचनालगायत भारतसँग सीमा जोडिएका क्षेत्रबाट नेपालतर्फ अवैध रूपमा भित्र्याउन लागेको फूलमाला सशस्त्र प्रहरीको गस्ती तथा चेकजाँच टोलीले दुई दिनमा नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण भद्रपुरका गणपति सचिन कर्माचार्यका अनुसार मंगलबार १४ लाख १५ हजार ३०० रुपैयाँ र सोमबार २५ लाख ६३ हजार ४०० रुपैयाँ मूल्य बराबरको फूलमाला बरामद गरिएको हो।

जिल्ला प्रशासन कार्यालय झापाले भारतबाट फूलमाला आयातमा रोक लगाउँदै तिहारमा स्वदेशी फूल प्रयोग गर्न आग्रह गर्दै आएको छ। अवैध रूपमा भित्र्याइएका फूलमाला नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशनसमेत दिइएको थियो।

बरामद फूलमाला जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, प्लान्ट क्वारेन्टिन, जनप्रतिनिधि तथा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको जनाइएको छ।रासस