विजयपुर । सुनसरी प्रहरीले लागूऔषध ब्राउन सुगर तथा विभिन्न प्रतिबन्धित औषधिसहित धरानबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चतराबाट कारागार फरार एक प्रतिवादीलाई पनि पक्राउ गरेको छ भने देवानगञ्जबाट गाँजा र मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान–१५ भानुमार्गमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको संयुक्त प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पानबारीबाट महादेव चोकतर्फ पैदल आउँदै गरेका उनीहरूलाई शंका लागेर जाँच गर्दा लागुऔषध बरामद गरी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धरान–६ का ३१ वर्षीय नरबहादुर कटुवाल, धरान–१ का २६ वर्षीय रवि साह र धरान–१५ का ३३ वर्षीय बालकृष्ण दाहाल छन्। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ।

यसैगरी, चतरा क्षेत्रबाट कारागार फरार एक प्रतिवादी पक्राउ परेका छन्। यस्तै, बराहक्षेत्र नगरपालिका–२ चतराबाट ३३ वर्षीय मनोज परियारलाई पक्राउ गरेको हो ।

धनकुटाको सहिदभूमि गाउँपालिका–६ घर भई हाल बराहक्षेत्र–२ मा बस्दै आएका परियार लागूऔषध गाँजा मुद्दामा सुनसरी जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागारमा चलान भएका थिए। उनी जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए। प्रहरीले खोजतलासका क्रममा उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा बुझाएको छ ।

त्यस्तै, देवानगञ्ज गाउँपालिका–३ नयाँहाटबाट प्रहरीले ६ किलो ६६ ग्राम गाँजा र मोटरसाइकल बरामद गरेको छ ।

प्रहरी चौकी कप्तानगञ्जबाट खटिएको टोलीलाई देखेपछि उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको पीबी ०२ बीके ३८०१ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएका थिए।

मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। फरार चालकको पहिचान तथा खोजी भइरहेको र बरामद गाँजा तथा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।