त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलिउड कलाकार सोनाक्षी सिन्हालाई स्वागत गर्न नेपाली सेनाका जर्नेल नै उपस्थित भएको समाचार सार्वजनिक भएको छ । सोनाक्षीलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न गौचरनस्थित इञ्जिनियरिङ निर्देशनालयका निर्देशक सहायक रथी समीर शाहीलगायत अन्य सैनिक अधिकृतहरू पुगेको घटनाले राष्ट्रिय सेनाको अवमूल्यन भएको छ । जुन हिसाबले जे काम भयो यसले राष्ट्रिय सेनाको संस्थागत प्रतिष्ठा घटाउने काम भएको छ । यसले राष्ट्रिय सुरक्षाको जिम्मेवारी लिएका सिपाहीहरूको मनोबल गिराउने मात्र होइन संस्थाकै बदनामी भएको छ ।
व्यापारिक उद्देश्यले गरेको नाचगान कार्यक्रममा सहभागी कलाकारको स्वागतमा राष्ट्रिय सेनाको संस्थागत संलग्नता किमार्थ राम्रो मान्न सकिँदैन । कार्यक्रमको उद्देश्य असल होला तर व्यवस्थापनमा सिङ्गो सेनालाई परिचालन गरिनु गैरजिम्मेवार काम हो ।
आन्तरिक र बाह्य सुरक्षामा खटिने सेना यस्ता काममा अल्मलिनु कुनै हिसाबले पनि उचित मानिँदैन । यस्ता घटनाबाट सैनिक ऐन–नियमको समेत उल्लङ्घन भएको विज्ञहरुको ठहर छ । सामान्य नीति–नियमको समय ख्याल नगर्नु सेनाको संवेदनशीलता, मर्यादा र गरिमालाई ख्याल नगर्नु हो । स्वागतमा जानु अगाडि सेनाका अधिकृतले ध्यान पु¥याउन नसक्नु कमजोरी हो ।
कार्यक्रम सैनिक श्रीमती सङ्घले गरेको थियो । यो कुनै सरकारी निकाय होइन । राष्ट्रिय सेनाको कुनै अङ्गमा पनि गनिँदैन । सङ्घको आयोजनामा निम्त्याइएका विदेशी अभिनेत्रीहरूको स्वागतमा सेनाका उच्च अधिकृत व्यक्तिगत हिसाबले जानु स्वाभाविक हुन सक्ला तर कुनै आदेशमा स्वागत गरिनु सेनाकै लागि लज्जास्पद हो ।
सेनाका उच्च पदस्थ व्यक्तिको यस्तो कामलाई निरुत्साहित गर्नु जरुरी छ । सेनाको उच्च तहकै आदेशमा यस्तो गतिविधि भएको हो भने जंगी अड्डा तथा मातहतको मन्त्रालयले नीतिगत निर्णय गरेर निर्देशन दिनु पर्दछ । आगामी दिनमा यस्ता विवाद दोहोरिनु हुँदैन । सेनाले सामान्य संस्थाका कार्यक्रममा उपस्थिति जनाउने भन्दा पनि आन्तरिक तथा वाह्य सुरक्षामा उपस्थिति जनाउनु पर्ने कुरा हेक्का राख्नु पर्छ ।