ठेकेदारको लापर्वाहीका कारण विकास निर्माणका थुप्रै कामहरु अलपत्र पर्ने गरेका छन् । कतिपय कामहरु वर्षौंसम्म अधुरै रहने गरेका छन् । काम शुरु हुँदा त्यसबाट लाभान्वित हुने सर्वसाधारण हर्षित हुने गरे पनि समय बित्दै जाँदा काम अघि नबढेपछि उनीहरुको त्यो हर्ष पनि बिस्तारै निराशामा परिणत हुन थाल्छ । यस्ता उदाहरणहरु देशमा थुप्रै छन् । कतिपय सडक अधुरै छन् भने कतिपय भवनहरु निर्माणाधीन अवस्थामै रोकेर ठेकेदार वेपत्ता भएका छन् ।
यसमा ठेकेदारको मात्र कमजोरी छैन । सरकार, सरकारी संयन्त्र र हाम्रो राज्यप्रणाली पनि यसमा जिम्मेवार छन् । कमिसनविना कुनै काम नहुने र कमिसनमा कुरा मिलेपछि जे पनि हुने हाम्रो अघोषित संस्कृतिका कारण विकास निर्माणका कामहरुले अपेक्षित गति लिन सकेका छैनन् । कमिसन लिएको कारणले गर्दा ठेकेदारले जतिसुकै ठूलो कमजोरी वा गल्ती गरे पनि सम्बन्धित निकायले कारवाही गर्न नसक्ने वा कडा निर्देशन दिन नसक्ने स्थिति कतिपय अवस्थामा देख्निछ ।
पथरीशनिश्चरे–२, छत्तीसबिघे टोलमा निर्माणाधीन पथरी स्वास्थ्य चौकीको भवनले पनि अहिले यही नियती भोगिरहेको छ । स्थानीयले निकै उत्साही भएर करोडौँको जग्गा निःशुल्क दान गरे पनि अहिले उनीहरुले त्यसबाट उपलब्धि पाउन सकेका छैनन् । १४ महिनामा निर्माण सक्ने गरी ठेकेदार पक्षसँग सम्झौता भएर ०६७ जेठ १९ गते शिलान्यास भएको भवनको निर्माण कार्य अहिलेसम्म सकिएको छैन । स्वास्थ्य चौकी बनेपछि स्थानीय ग्रामीण जनताले सहज रुपमा स्वास्थ्य सेवा पाउने उनीहरुको आशामा अहिले तुषारापात भएको छ । दुईतले भवन ठडिए पनि काम नसकिँदा अहिले सो भवन आपराधिक गतिविधि गर्नेहरुका लागि सुरक्षित स्थलमा परिणत हुन पुगेको छ । भवन निर्माणपछि सहज स्वास्थ्य सुविधा पाइने आशामा बसेका स्थानीय अहिले सोही अधुरो भवनका कारण असुरक्षाको जोखिम झेलिरहेका छन् ।
यसतर्पm सम्बन्धित निकायको ध्यान अविलम्ब जानुपर्छ । के कारणले काम अघि बढ्न नसकेको हो भन्ने जानकारी स्थानीयलाई स्पष्ट रुपमा दिनु सम्बन्धित निकायको दायित्व हो । स्वास्थ्य मन्त्रालयको बजेटमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले एमके कन्स्ट्रक्सनलाई १ करोड १४ लाख रुपैयाँमा भवन निर्माणको ठेक्का दिएको थियो । अहिले काम अधुरै छोडेर ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ । यस विषयमा डिभिजन कार्यालयले गम्भीर चासो दिनु आवश्यक छ । जिम्मा लिएर काम पूरा नगर्ने ठेकेदारमाथि कारवाहीको प्रक्रिया शुरु गरेर कामलाई पूर्णता दिनेतिर कार्यालय सक्रिय हुनु अपेक्षित छ ।