गलेश्वर क्षेत्र पहिराको जोखिममा
चितवन/भूकम्पले चर्किएको ठाउँमा पानीले गालेपछि पहिरो खस्ने क्रम नरोकिँदा देवघाटको गलेश्वर आश्रम क्षेत्र जोखिममा परेको छ ।
त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल नजिकै त्रिशूलीले तलबाट कटान र माथिबाट ठूलो वर्षाका कारण चिरिएको ठाउँमा पानी पसेपछि यही साउन २१ गतेदेखि पहिरा खस्न सुरु गरेको हो ।
नजिकै रहेको गलेश्वर आश्रमका सचिव महेन्द्र प्याकुरेलका अनुसार साउन २० गते राति परेको पानीका कारण साउन २१ गते ठूलो पहिरा खसेको थियो । त्यसपछि दिनहुँ पहिरो खस्ने क्रम जारी छ जसका कारण सात कुटी खाली गरिएको तथा कुटी पनि जोखिममा रहेको उनले बताए । समयमै नियन्त्रण गर्न नसके झन्डै २०० जना रहेको गलेश्वर आश्रमसहित आसपासका क्षेत्र जोखिममा रहने देवघाट क्षेत्र विकास समितिका निवर्तमान सदस्य टङ्कनाथ पौडेलले बताए ।
उनका अनुसार पहिराका कारण गलेश्वर आश्रम नजिकैबाट वेणी झर्ने बाटासमेत जोखिममा छ । सो क्षेत्रमा तल त्रिशूलीको पानीको बहावले माटो काटिरहेको तथा दुई सय फिमाथि देखि पहिरा झरिरहेको पौडेलले बताए । विकास समितिका कार्यकारी निर्देशक जयकृष्ण शर्माले पहिरो नियन्त्रणका लागि त्रिशूलीमाथिको झोलुङ्गेपुलदेखि वेणीसम्म तारजाली लगाउनुपर्ने बताए ।
सोका लागि जलउत्पन्न प्रकोप क्षेत्रीय कार्यालय पोखरा, भूसंरक्षण कार्यालय तनहुँ र जिविस तनहुँमा पत्राचार गरिएको उहाँले बताउनुभयो । पहिरो खसेको क्षेत्र तनहुँ जिल्लाको देवघाट गाविसमा पर्छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































