सुनसरी । धरान १६ की ५९ वर्षीया शान्ति श्रेष्ठ बिहानै मोरङको भाउन्ने पुग्छिन् । उनी बिहानै उठेर हरियो मकै खरिद गर्न मोरङको भाउन्ने पुग्ने गर्छिन् । उनी ११ बजे धरान आइपुगेर धरान १३ मा मकै पोल्न व्यस्त हुन्छिन् ।

श्रेष्ठले यस्तो दैनिकी बिताएको तीन दशक पुगिसकेको छ । उनी भन्छिन्, “३० वर्षदेखि मकै पोलेर नै जीविकोपार्जन गरिरहेको छु ।” श्रीमानको निधनपछि घरको आर्थिक जिम्मेवारी आफैँ सम्हाल्नु परेको उनको भनाइ छ । धरान–१३ स्थित लक्ष्मीचोक नजिकै सडकछेउमा मकै पोल्ने र बिक्री गर्ने उनको दैनिकी हो । शान्तिले दैनिक करिब १ सय ६० देखि १ सय ८० घोगासम्म मकै पोलेर बिक्री गर्ने गरेको बताउँछिन् ।

करिब तीन दशकदेखि यो पेसा अपनाएकी श्रेष्ठका लागि मकै बिक्री गर्नु आम्दानीको माध्यम मात्र नभई जीविकोपार्जनको आधार हो । खुला आकाशमुनि सडकछेउमा बसेर काम गर्दा जस्तोसुकै घामपानी सहेरै पनि उनी आफ्नो पेसालाई निरन्तरता दिँदै आएकी छन् । श्रेष्ठ भन्छिन्, “अरू काम गरौँ भने सकिँदैन, अर्कोतिर काम पनि पाइँदैन । मकै पोल्ने काम पनि सजिलो त छैन । कहिले पानी पर्छ, कहिले टन्टलापुर घाम लाग्छ । गाह्रो हुन्छ, तर अब त घामपानी सहन बानी परिसक्यो ।”

उनी मोरङका विभिन्न स्थानमा मकैबारी समेत ठेक्कामा लिई हरियो मकै धरान ल्याएर बिक्री गर्ने गरेको बताउँछिन् । उनी ६० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्ममा मकैबारी ठेक्का लिँदै आएकी छन् । उनलाई त्यस कार्यमा अरू साथीले पनि साथ दिने गरेका छन् । श्रेष्ठ भन्छिन्, “साथीहरूसँग मिलेर ठेक्कामा लिँदा अलि सस्तो हुन्छ, तर सधैँ नाफा मात्रै हुँदैन । कहिले घाटा त कहिले फाइदा हुन्छ । व्यापारमा तलमाथि भइरहन्छ ।”

उनी मकैको साइजअनुसार प्रति घोगा १५ देखि ५० रुपैयाँसम्ममा बिक्री गर्छिन् । मकै पोल्ने कोइलाको खर्च कटाएर मासिक ७० हजारदेखि ८० हजार रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ । मकै बिक्रीबाट प्राप्त रकमबाटै सबै घरखर्च व्यवस्थापन गरिरहेकी छिन् । “काम गर्यो भने खानका लागि अभाव हुँदैन । मकै पोलेरै घरव्यवहार चलिरहेको छ । घरमा कमाउने मान्छे छैन, कमाउने म नै हुँ ।” उनी भन्छिन्, “छोरी विवाह गरेर आफ्नो घर गइन् । उमेर ढल्किँदै गयो, काम गर्ने बानी बस्यो । काम छाडेर घरमा बस्न मन लाग्दैन, दुःख हुन्छ भन्दैमा काम छोड्न पनि भएन ।”

मकै बेच्ने कार्यलाई निरन्तरता दिएकै कारण दैनिक घरखर्च जुटाउन अरूसँग हात थाप्नु नपरेकोमा उनी गौरव गर्छिन् । श्रेष्ठ भन्छिन्, “यही काम गर्ने बानी परिसक्यो । एक दिन काममा निस्किनँ भने छटपटी हुन्छ । घरमा बसेर समय बिताउनै गाह्रो हुन्छ । बुढेसकाल लाग्यो भन्दैमा घरैमा बसेर हुँदैन । हातखुट्टा चलिरहेकै छन्, सकेसम्म काम गर्नुपर्छ ।” रासस