चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संशोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताएकी छिन् । 

चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्दै अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नुपरेकाले समयसापेक्ष कानुन संशोधन गरिने बताइन् । उद्योगी व्यवसायीहरूले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भनिन्, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पष्ट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ ।” देशमा कसरी लगानीमैत्री वातावरण बनाउने भन्ने सन्दर्भमा आफूहरूले निरन्तर प्रयासरत रहेको उनले प्रष्ट पारिन् ।

त्यसका लागि आवश्यक पर्ने पूर्वतयारीहरू सरकारले गरिरहेको मन्त्री गौतमले बताइन् । हालै मात्र लगानीमैत्री कानुनहरूमा के के सुधार गर्नुपर्छ ? भनेर बृहत् कार्यशाला गरिसकिएको उनले जानकारी दिइन् । लगानीमैत्री कानुन निर्माणका लागि नीति निर्माता, कर्मचारीतन्त्र, निजी क्षेत्र र राजनीतिक क्षेत्र सबै एकै ठाउँमा हुनुपर्नेमा उनले जोड दिइन् । 

कानुन निर्माण गर्ने विषय रातारात नहुने भन्दै मन्त्री गौतमले भनिन्, “अहिलेसम्म तपाईंहरूले भोग्नुभएको समस्या वर्षौंदेखि जेलिँदै आएका समस्या हुन् । सुधारमुखी कुराहरू देखिनका लागि कानुनको संशोधन गर्नुपर्छ । संशोधनको चरणमा बल्ल हामी पुगेका छौँ ।” बिना तयारी कानुन संशोधन भयो भने त्यसको मूल्य नेपाली जनताले तिर्नुपर्ने भन्दै उनले थपिन् । उनले भनिन्, “थोरै ढिला भएर केही हुँदैन । दीर्घकालीन रूपमा समस्या समाधान हुने गरी पूर्वतयारी गरेर छलफल र संवाद गरिरहेका छौँ ।” ‘फास्टट्रयाक’ बाट कानुन निर्माण गर्न पनि छदेखि आठ महिना लाग्ने भन्दै उनले अब कानुन निर्माणको चरणमा पुगेको बताइन् ।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापतिले उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार लागिपरेको बताइन् । सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष शोभा गुरुङले भोटेकोशी बाढीमा प्रभावित भएका उद्योग पुनःस्थापनाका लागि सरकारले सहयोग गर्नुपर्ने बताइन् । रासस