विजयपुर । ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएसँगै मूल्य घट्न थालेको छ ।
चालु सिजनको सुरुवातमा प्रतिमन (४० किलोग्राम) ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य घटेर अहिले ८४ हजार रुपैयाँमा झरेको छ । एक साताअघि प्रतिमन ८८ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँचीको मूल्य अहिले चार हजार रुपैयाँले घटेको व्यवसायीले बताएका छन् । नयाँ उत्पादन बजारमा आउन थालेसँगै मूल्यमा गिरावट आएको उनीहरूको भनाइ छ ।
अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा आउन थालेको छ । उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उनको भनाइ छ । उनले भने, “ओसिलो क्षेत्रको अलैँचीले सुरुवाती समयमा राम्रो मूल्य पायो । त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।”
ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँची खेती हुँदै आएको छ । जिल्लाको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने उतारचढावले किसानको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । उच्च क्षेत्रको अलैँची बजारमा आउन बाँकी रहेकाले आगामी दिनमा मूल्यमा थप उतारचढाव हुनसक्ने व्यवसायीको अनुमान छ । उत्पादन बजारमा आउने क्रम बढेसँगै मूल्यले कस्तो दिशा लिन्छ भन्ने विषयमा किसान तथा व्यवसायीको चासो बढेको छ । रासस
































