विजयपुर । धरानमा दलित समुदायका सवाल उठाउने साझा संस्थाका रूपमा स्थापित दलित उत्थान समन्वय समिति पुनर्गठन गरिएको छ ।

लामो समयदेखि निष्क्रिय बनेको समितिलाई पुनः सक्रिय बनाउँदै दलित समुदायका साझा समस्या र अधिकारका विषयमा संस्थागत पहल अघि बढाउने उद्देश्यले नयाँ नेतृत्व चयन गरिएको हो । आइतबार धरानमा सम्पन्न दलित अगुवाहरूको भेलाले दिलबहादुर रामदामको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा किशोर परियार, सचिवमा तारा लामगादे, सहसचिवमा हर्कराज चर्मकार र कोषाध्यक्षमा सावित्रा परियार चयन भएका छन्।

वि.सं. २०५६ सालमा स्थापना भएको समितिको पुनर्गठनलाई धरानका दलित अगुवाहरूले संगठनात्मक गतिविधिलाई नयाँ ढंगबाट अघि बढाउने प्रयासका रूपमा लिएका छन्। धरानमा दलित समुदायसँग सम्बन्धित विभिन्न संघसंस्था र संगठन क्रियाशील रहे पनि साझा सवालमा समन्वय र एउटै संस्थागत आवाज निर्माण गर्ने चुनौती रहँदै आएको छ। यही चुनौतीलाई सम्बोधन गर्न पुनर्गठित समितिले विभिन्न संघसंस्था, अगुवा र सरोकारवालालाई एउटै संरचनामा जोड्ने योजना अघि सारेको छ। शिक्षा, रोजगारी, आर्थिक अवसर, सामाजिक सम्मान, राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व र विभेदविरुद्धका सवाललाई साझा एजेन्डाका रूपमा अघि बढाउने तयारी गरिएको छ।

समितिले केवल नेतृत्व चयनमा सीमित नरही कामलाई विषयगत रूपमा अघि बढाउने तयारी गरेको छ। त्यसका लागि १२ वटा विभाग गठन गर्ने निर्णय गरिएको छ। विभागमार्फत सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक, राजनीतिक तथा अधिकारका क्षेत्रमा देखिएका समस्या पहिचान गर्ने र सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने योजना समितिका सचिव तारा लामगादेले बताए।

दलित समुदायका समस्या धेरै क्षेत्रसँग जोडिएकाले एउटै संस्थाले सबै विषयलाई प्रभावकारी रूपमा सम्बोधन गर्न कठिन हुने अवस्थामा विषयगत विभागमार्फत जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरिएको उनको भनाइ छ। समितिको पुनर्गठनसँगै संगठनलाई नियमित र परिणाममुखी बनाउन चुनौतीपूर्ण रहेको छ। नेतृत्व चयन र संरचना निर्माणपछि समुदायका वास्तविक समस्या पहिचान गरी स्थानीय सरकार तथा अन्य स्थानीय तहका नीति, बजेट र निर्णय प्रक्रियामा दलित समुदायको अर्थपूर्ण सहभागिता, शिक्षा तथा रोजगारीमा पहुँच, आर्थिक अवसरको विस्तार र सामाजिक विभेदका सवालमा समितिले कस्तो भूमिका खेल्छ भन्ने विषय महत्वपूर्ण हुनेछ।

दलित समुदायका विभिन्न संगठन र समूहलाई एउटै साझा अभियानमा जोड्नु पनि समितिका लागि अर्को चुनौती हो। फरक संस्था, विचार र प्राथमिकताबीच समन्वय गर्दै साझा मुद्दा निर्माण गर्न सके मात्र पुनर्गठनको उद्देश्य व्यवहारमा देखिनेछ। नयाँ कार्यसमितिले २०८३ मंसिर १५ गतेभित्र बृहत् भेला आयोजना गर्ने लक्ष्य लिएको छ। उक्त भेलामा धरानमा रहेका दलित समुदायका विभिन्न संघसंस्था, संगठन, अगुवा तथा सरोकारवालालाई समेटेर संस्थाको भावी कार्यदिशा तय गर्ने समितिले जनाएको छ।

बृहत् भेलाबाट संगठन विस्तार, साझा एजेन्डा निर्माण र दीर्घकालीन कार्ययोजना तयार गर्ने समितिको लक्ष्य छ। त्यसका लागि धरानका दलित समुदायभित्र रहेका समस्या र आवश्यकतालाई प्राथमिकताका आधारमा सूचीकरण गर्ने तयारीसमेत गरिएको छ।

समितिको पुनर्गठनसँगै धरानका दलित समुदायका साझा सवाललाई एउटै संस्थागत आवाजमा उठाउने अपेक्षा गरिएको छ। तर त्यसको प्रभावकारिता भने समितिले समुदायका वास्तविक समस्या कति पहिचान गर्छ, स्थानीय तहसँग कस्तो समन्वय गर्छ र उठाइएका सवाललाई निर्णय प्रक्रियासम्म कति प्रभावकारी रूपमा पुर्‍याउन सक्छ भन्नेमा निर्भर हुनेछ। नयाँ नेतृत्वका लागि अब संगठन विस्तारभन्दा पनि समुदायका सवाललाई नीति, बजेट र निर्णय प्रक्रियासँग जोडेर परिणाम देखाउने प्रमुख चुनौती रहेको छ।