ताप्लेजुङ/ ताप्लेजुङमा यस वर्ष दशैंतिहारका लागि तिब्बतबाट भेडा च्याङ्ग्रा आयात नभएपछि सर्वसाधारणलाई मासुको जोहो गर्न समस्या भएको छ । खसीको मासुको भाउ पनि बढेको र च्याङ्ग्रा पनि नभित्रिँदा खासगरी सदरमुकाम फुङ्लिङ बजारबासीलाई मासु जुटाउन समस्या भएको हो ।
वर्षाका कारण तिब्बती मार्गहुँदै सदरमुकाम फुङ्लिङ आउने पदमार्ग पहिरोले बिग्रिएको साथै चिनियाँ रुपैयाँ बढेकाले तिब्बतमै भेडा–च्याङ्ग्रा महङ्गो पर्ने भएपछि आयात गर्न सम्भव नभएको स्थानीय व्यापारीको चुन्दाक शेर्पाको भनाइ छ । सदरमुकाममा खसीको मासु प्रतिकिलो ६ सय रुपैयाँ पुगेको छ भने भेडा पनि पर्याप्त पाउन छाडेको उपभोक्ताको भनाइ छ । चीनको तिब्बतबाट ल्याइने च्याङ्ग्रा हिँडाउनलाई विभिन्न स्थानको पहिरोका कारण वैकल्पिक मार्ग अपनाउनु पर्दा घुन्साबाट ढासाहुँदै ओलाङ्चुङगोला र अर्को पापुङको सिम्बुकबाट लोदेनहुँदै ओलाङ्चुङगोला पुग्नुपर्ने हुँदा ल्याउने सम्भावना नरहेको लेलेपका स्थानीय व्यापारी शेर्पाले बताए ।
उक्त दुईवटै मार्ग तय गर्नका लागि अरु पाँच÷सात दिन बढी समय लाग्ने हुँदा व्यापार गर्न गाह्रो भएको उनीहरुको भनाइ छ । भेडा पर्याप्त नपाइने, खसीको मासु बढेको र च्याङ्ग्रा पनि नभित्रिँदा कुखुराको मासुको खपत बढ्ने देखिएको छ । यस वर्ष व्यापारीले केही भेडा–च्याङ्ग्रा तिब्बतबाट आयात गरेपनि यसको कारोबार उपल्लो ताप्लेजुङमै सीमित भएको छ । अघिल्ला वर्षहरुमा व्यापारीले तिब्बतबाट ल्याएको भेडा च्याङ्ग्रा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बाहेक छिमेकी जिल्ला पाँचथर र तेह्रथुमसम्म पु¥याउने गरिएको थियो । यस वर्ष मूल्यवृद्धि र पहिरोका कारण कारोबार गर्दा फाइदा नहुने भएपछि व्यापारी व्यवसायीले भेंडा च्याङ्ग्रा नल्याएका हुन् ।यसअघि नै भेडा च्याङ्ग्रा नआउने बताइएकाले बजारमा स्थानीय खसीबोकाको माग बढेको थियो । तर उपभोक्ताको माग अनुसार खशीबोका नपाएपछि मासुको जोहो गर्नलाई समस्या भएको स्थानीय हरि बरालले बताए । यता माग बढेपछि स्थानीय ब्यापारी व्यवसायीले खसीबोकाको मूल्य मनोमानीरुपमा समेत बढाएको बताइएको छ ।