denguशनिश्चरे, मोरङ  /  छिमेकी जिल्ला झापाको दमक क्षेत्रमा डेंगु रोग महामारीका रुपमा फैलिएपछि मोरङमा त्यसको सचेतनाका कार्यक्रम भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको अगुवाईमा दमक नगरसँग जोडिएको उर्लाबारीको मंगलबारे अस्पताल र त्यसको छिमेकी पथरी स्वास्थ्य चौकीमा संघ संस्थाका अगुवाहरुमाझ बुधबार सचेतनाका कार्यक्रम भएको छ । कार्यक्रममा, जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक ख्यामप्रसाद शिवाकोटीको अगुवाईमा मंगलबारे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राज झा, सिनियर अहेव योगेन्द्र कट्टेल र पथरी स्वास्थ्य चौकी प्रमुख मुरारी आचार्यले डेंगु रोग नियन्त्रणका बारेमा जानकारी गराएका छन् । झिसमिसे साँझ र मिर्मिरे विहानीमा सक्रिय हुने एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोक्दा डेंगु भई उच्च ज्वरो आएर ज्यान समेत जानसक्ने खतराबाट बच्न लामखुट्टेको नियन्त्रण नै प्रमुख उपाय हुने स्वास्थ्यकर्मीहरुले उल्लेख गरे । फ्याँकिएका टोक्री, टायरमा जमेको सफा पानीमा एडिस एजिप्टाई यसको लार्भा पाइने भएकाले त्यस्ता बस्तुमा पानी जम्न दिनु नहुने बताए । साथै घरमा रहेको गमला, कुलर सहितको सफा पानीमा पनि त्यसप्रकारको लामखुट्टे बस्ने हुँदा त्यस्ता बस्तुको पानी पनि फेरिरहनु पर्ने जनाए । दमकमा १ सय जनामा डेंगु रोग देखापरेको छ ।