भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पाँच महिनापछि ‘फेरी’ सेवा सञ्चालनमा आएको छ ।
बर्सातका कारण गत जेठदेखि बन्द रहेको फेरी सेवा बुधबारदेखि पुनः सञ्चालनमा आएपछि भोजपुरको उत्तरी क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको छ ।
दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी हलुका सवारीसाधनलाई नदी वारपार गराउन मिल्ने गरी फेरी सेवा सञ्चालनमा ल्याइएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए ।
फेरी सेवा सञ्चालनमा आएसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई आवतजावत तथा दैनिक उपभोग्य सामग्री ओसारपसारमा सहज हुने भएको छ । अरुण नदीमा पक्की पुल नहुँदा भोजपुर र सङ्खुवासभाका नागरिक सवारीसाधन तथा यात्रुसहित नदी वारपार गर्न फेरीमा निर्भर हुँदै आएका छन् ।
सतिघाटमा पक्की पुल नहुँदा वर्षायाममा फेरी सेवा बन्द हुने र आवागमन प्रभावित हुने गरेको छ । सेवा सञ्चालनमा आएपछि उत्तरी क्षेत्रका नागरिकलाई सङ्खुवासभासँग जोडिन तथा दैनिक उपभोग्य वस्तुको ओसारपसार गर्न सहज हुने नगर प्रमुख उदासले बताए ।
सतिघाटमा विसं २०७६ देखि फेरी सञ्चालन हुँदै आएको छ। बर्सातका कारण हरेक वर्ष सेवा बन्द हुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन्। त्यसैले सतिघाटमा पक्की पुल निर्माणको आवश्यकता कायमै रहेको स्थानीयवासीको भनाइ छ। रासस

































