विजयपुर । धरान उपमहानगरपालिकाको क्षेत्रभित्र हाउजी, डाइस, जुवा तथा तास लगायतका जुवाजन्य खेल खेल्न तथा खेलाउन नपाइने भएको छ ।

उपमहानगरपालिकाले सूचना जारी गरी नगर क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्ने जनाएको छ ।

उपमहानगरका प्रशासन महाशाखा प्रमुख बेदप्रसाद सापकोटाद्वारा हस्ताक्षरित सूचनामा कुनै पनि व्यक्ति, व्यवसायी, होटल, रेस्टुरेन्ट, क्लब तथा सङ्घसंस्थालाई जुवाजन्य खेल सञ्चालन नगर्न, नगराउन र त्यस्ता गतिविधिमा सहयोग नगर्न आग्रह गरिएको छ ।

उपमहानगरपालिकाले जारी गरेको सूचनाको बेवास्ता गरी हाउजी, डाइस, जुवा तथा तासजस्ता गतिविधि सञ्चालन गरेको वा त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

नगर क्षेत्रमा जुवाजन्य गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले जारी गरिएको सूचनाको पालना गर्न उपमहानगरपालिकाले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।