राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव मान्य नहुनेः अध्यक्ष यादव
राजविराज (सप्तरी)/सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय समस्याको सम्बोधन नगरी ल्याइने संशोधन प्रस्ताव आफूहरुलाई मान्य नहुने बताएका छन् ।
सङ्घीय प्रेस फोरम सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,– ‘जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गिक विभेद् लगायत असमानताको सम्बोधन भएमात्र देशको राजनीतिक समस्या समाधान हुन्छ ।’
अध्यक्ष यादवले संविधान संशोधनबारे भइरहेको छलफल आफूहरुलाई औपचारिक जानकारी नभएको भन्दै मधेसी, आदिवासी, जनजातीलगायतका उत्पीडित समुदायले उठाएका राष्ट्रिय मुद्दाको सम्बोधन हुने गरी संशोधन नगरिए संविधान संशोधन प्रस्ताव निरर्थक हुने दाबी गरे ।
समानुपातिक, समावेसी, सीमाङ्कन, भाषिक अधिकारलगायत पहिचानसँग सम्बन्धित राष्ट्रिय सवाललाई सहमतिका आधारमा सम्बोधन हुने गरी विधेयक ल्याउनुपर्नेमा जोड दिदैं उनले नेपाली भाषा लादिएका कारण मातृभाषाको अस्तित्व सङ्कटमा परेकाले अब भाषिक विभेद्लाई अन्त्य गर्नुपर्ने बताए ।
अध्यक्ष यादबले देशमा बोलिने मातृभाषालाई सूचीकृत गरी त्यसको विकासका लागि राज्य गम्भीर हुनुपर्ने आवश्यकता औल्याउँदै नागरिकताको विषयमा मधेस विरोधी दलले गलत ढङ्गले परिभाषित गरी आमजनतालाई भ्रममा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाए ।
‘विदेशीलाई नेपाली नागरिकता दिएर राष्ट्रपति बनाउनुपर्छ भन्ने हाम्रो माग नभएको स्पस्ट पार्दै उनले भने,–‘वैवाहिक सम्बन्धका आधारमा दिइने नागरिकतामा विभेद् हुनुहुँदैन र विवाह गरेर आएकी बुहारीलाई नागरिकताकै आधारमा गरिने विभेद्लाई कुनै पनि हालतमा न्यायोचित मानिदैन ।’
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































