बिर्तामोड/ झापाको एक निजी अस्पतालको निर्देशनमा अनिश्चितकालीन मेची बन्दको हल्ला फिँजाउँदा आइतबार जनजीवन अन्यौलमा परेको छ । बिर्तामोडमा रहेको बी एण्ड सी अस्पतालको अगुवाइमा सडक बन्द गरी पर्चा छरेर जनजीवन अस्तव्यस्त बनाउन खोजिएको थियो ।चारवटा संस्थाले बन्दको आह्वान गरेको भएपनि मेचीमा बन्दको कुनै प्रभाव परेको थिए । बन्द आह्वान गर्ने क्रममा सडकभरी पर्चा छरिएको थियो ।
माइकिङ गरेर बन्द भनिएको भएपनि आइतबार अन्य दिनजस्तै बजार, शिक्षण संस्था, उद्योगधन्दा, विद्यालय, कलकारखाना खुलेका थिए ।बिर्तामोडस्थित बी एण्ड सी अस्पतालबाट परिचालित स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेची, नेपाल बेरोजगार युवा सङ्घ झापा, चाहना समूह बिर्तामोड र नवजागृति युवा क्लब धाईजनले आइतबारदेखि विभिन्न आठ बँुदे माग राखी सडक बन्दको घोषणा गरेका थिए ।
स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीका अध्यक्ष चैतन्यप्रकाश मैनालीले हस्ताक्षर गरेको पर्चामा बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिनु पर्ने, नेपाल सरकार र डा. गोविन्द केसीबीच भएको १२ बँुदे सम्झौता खारेज गरिनु पर्ने, जबर्जस्ती राजीनामा दिन बाध्य पारिएका डिन डा. केपी सिंहलाई पुनर्बहाल गरिनु पर्ने, माथेमा प्रतिवेदन यथाशिघ्र खारेज गरिनु पर्ने, डा. गोविन्द केसीलाई महाराजगञ्ज टिचिङ हस्पिटलबाट बर्खास्त गर्नुपर्ने लगायतका माग रहेका छन् ।यसै क्रममा बन्द गराउन हिँडेका तीनजनालाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको छ ।
बी एण्ड सी अस्पतालको छेउमा लुकेर सवारी साधनमाथि ढुङ्गा हान्ने तथा टायर बाल्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले प्रज्ञा एकाडेमीका चालक गरामनी–३ का २७ वर्षीय पहलमान श्रेष्ठ, सोही गाविस–२ का २९ वर्षीय विजय चौधरी र बिर्तामोड नगरपालिका–६ का सुरेश आले मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका एसपी शैलेस थापा क्षेत्रीले जनाए । आले मगरलाई आवश्यक अनुसन्धानपश्चात साँझ छाडिएको छ भने अन्यलाई अनुसन्धान जारी रहेको थापाले बताए ।झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले एउटा व्यक्तिको स्वार्थको लागि बन्द गर्न नमिल्ने बताए । बन्द हुन नदिने भन्दै कानुनले अधिकार दिएका कुरालाई मात्र मान्यता दिइने उनको भनाइ छ ।
अस्पताललाई मेडिकल कलेजको सम्बन्धनको लागि अस्पतालको निर्देशनमा अनशन बस्ने, केही महिनाअघि अस्पताल तथा समाजले विभिन्न निकायमा प्रेस विज्ञप्ति बुझाएका थिए ।मेची अञ्चल बन्दलाई निस्तेज पारिने मेची अञ्चल प्रमुख एसएसपी केदार रिजालले बताए । बन्द हुन नदिन सुरक्षा टोली कडाइका साथ परिचालन गरिएकोे उनले जनाए । बन्दले मेची अञ्चलमा कुनै असर नपारेको उनको भनाइ छ ।यसैबीच डा. गोविन्द केसी र सरकारबीच भएको सम्झौताको विरुद्धमा सर्वोच्च अदालतमा रिट दायर भइसकेको भन्दै बन्दकर्ताले आइतबार साँझ बन्द फिर्ता लिएका छन् ।