cold-teraiतरहरा/केही दिनयता पूर्वी नेपालमा शीतलहरका साथै अत्यधिक चिसो बढ्न थालेपछि सडक बालबालिका र गरीब कष्टमा छन् । केही दिनयता बिहानैदेखि बाक्लो हुस्सु लाग्ने, चिसो हावा दिनभर चल्ने र घाम नलाग्नाले पूर्वमा चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ । पूर्वी तराईका जिल्लाहरुमा अत्यधिक जाडो बढेपछि शहरबजारमा मानवीय चहलपहलमा पनि कमी हुन थालेको छ । जाडोबाट बालबालिका, वृद्धवृद्धा, बिरामी र अशक्तहरु बढी प्रभावित भएका छन् ।

जाडोसँगै स्वास्थ्य संस्थाहरुमा बिरामीको चापसमेत बढ्न थालेका छन् । हुनेखानेहरुले न्यानो कपडा लगाए पनि जाडोका कारण विपन्नहरुको कन्तबिजोग भएको छ । यो वर्ष अरु बेलाभन्दा छिट्टै जाडो भित्रिएको छ ।जाडो महिनामा दिनभरि घाम नलागेर समस्या हुने गरेको मुसहर बस्तीका सर्वसाधारण बताउँछन् । ‘बेलाबेलामा दाताहरुले न्यानो कपडा दिए जाडो जान्छ, नत्र जाँदैन ।’ साविक हाँसपोसाको मुसहर बस्तीकी ध्वाती मुसहरले बताइन् ।

बिहानैदेखि बाक्लो हुस्सु लाग्ने र शीतलहरसमेत चल्ने गरेपछि तराईको जनजीवन प्रभावित बनेको हो । तीन दिनयता चिसो अत्यधिक बढेको महसुस गरिएको सर्वसाधारणले बताए । चिसोसँगै बालबालिकाहरुमा निमोनिया, रुघाखोकी, कोल्ड डायरिया, छातीमा समस्या देखिने तथा वृद्धवृद्धाहरुमा कोल्ड डायरियालगायतका समस्या देखिन थालेको भन्दै जाडोमा तातो झोलिलो पदार्थ खाएर, आगो तापेर र न्यानो लुगा लगाएर स्वास्थ्यको ख्याल गर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी मुकुन्द गौतमले बताए ।

इटहरीको इलाका प्रहरी कार्यालयले पनि उपमहानगरपालिकासँग छलफल गरेर बाटोमा दाउरा बाल्न पहल गर्ने बताएको छ । चिसो बढ्न थालेपछि अहिले प्रहरीले पनि सडक बालबालिकाहरुप्रति चासो देखाउन थालेको छ ।