इटहरी/ इटहरी उप–महानगरपालिकाले नगरको योजना तर्जुमाका लागि १४ वर्ष पछि बल्ल विषयगत समिति गठन गरेको छ । यस अघि एकिकृत योजना तर्जुमा समितिबाटै योजना तर्जुमा हुँदै आएका थिए । आगामी वर्षको लागि २०५३ सालमा स्थापना भएको इटहरी उप–महानगरपालिकामा २०५९ सालसम्म जनप्रतिनिधीले काम गरेको अवस्था थियो । जनप्रतिनिधी नहुँदा आर्थिक वर्ष २०७४/०७५ को योजनाको लागि पहिलो पटक विषयगत समिति गठन गरिएको इटहरी उप–महानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहालले बताए । विषयगत समितिका आधारमा योजना छनौट गर्दा सबै क्षेत्र समेटिनेछन् । स्थानीय स्वायत्त शासन ऐन २०५५ र नियमावली २०५६ ले स्थानीय निकायका योजना तर्जुमा गर्दा विषयगत समिति गठन गरी राय लिने प्रावधान भएको इटहरी उप–महानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले बताए । ‘ऐन अनुसारनै समिति गठन गरिएको छ’ कार्यकारी अधिकृत राईले ब्लाष्टसँग भने ‘समितिको सिफारिसको आधारमा एकिकृत योजना तर्जुमा समितिबो बैठकबाट आउँदो वर्षको योजना तर्जुमा हुनेछ ।’ कति पय स्थनीय निकायमा योजना बनाउँदा विषयगत समिति मार्फत काम गरिदै आएको छ । तर, इटहरी उपमहानगरपालिकामा भने १४ वर्ष पछि बल्ल विषयगत समिति गठन गरिएको हो । जनप्रतिनिधी नभएको बेला विषयगत समिति गठन गरि आएका प्रस्तावलाई एकिकृत योजना तर्जुमा समिति नगर परिषद्को लागि सल्लाहाकार समिति जस्तो हुने वरिष्ठ इन्जिनियर दाहालले बताए । पाँचवटा विषयगत समितिले वार्डभेलाबाट आएका योजना
देखि नगरका योजना र समस्याको बारेमा परिषद्मा प्रस्ताव पठाउने कार्यकारी अधिकृत राईले बताए । आर्थिक वर्ष २०७४/०७५ को योजना तर्जुमाका लागि विषयगत समितिबाट आएका प्रस्तावलाई आउँदो पुस १७ गते बस्ने नगर परिषद्ले पारित गर्नेछ । १६ गतेसम्ममा विषयगत समितिले प्रतिवेदन पेश गर्नु पर्नेछ । बजेट पारदर्शी र योजना प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि ऐनमा नै पाँच वटा विषयगत समिति गठन गर्ने प्रावधान रहेको कार्यकारी अधिकृत राईले बताए ।
पहाडी क्षेत्रबाट बसाई सराई गरी आउने र फराकिलो शहरको रुपमा बढ्दै गएको इटहरीको बजेट प्रभावकारी बनाउन राजनीतिक दल, महिला, सामाजिक संघ संस्थालगायतकोे सहभागितामा समिति गठन गरिएको पनि उनले बताए । गठन गरिएको विषयगत समिति मध्ये पूर्वाधार तथा संरचनाको योजना तयार गर्न नेकपा माओवादी केन्द्रका भीमप्रसाद सुवेदी (सागर) को संयोजकत्वमा नेपाली काँग्रेसका नगर सभापति हेमकर्ण पौडेल, नेकपा एमालेका नगर अध्यक्ष रेवती प्रसाद घिमिरे सदस्य छन् । यसै गरी सोही समितिमा मधेशी, मुस्लिम, पिछडावर्ग प्रतिनिधी राजेन्द्रकुमार ठाकुर, वडा नागरिक मञ्चबाट गोमादेवी सिंह र सदस्य सचिवमा उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुनकुमार दाहाल रहेका छन् ।
यसै गरी नयाँ शक्ती नेपालका सोमराज सुवेदीको संयोजकत्वमा संघीय समाजवादी फोरमका राजकुमार गुरुङ, महिला संस्थाबाट शुभद्रा प्याकुरेल रहेको कृषी वन तथा वातावरण समिति गठन भएको छ । सो समितिको सदस्य सचिवमा कर्मचारी प्रोक्षण पोख्रेल रहेका छन् । यसै गरी जनसंख्या तथा सामाजिक समितिमा फोरम लोकतान्त्रिकबाट कोविदजंग कार्की रहेका छन् । सो समितिको सदस्यमा जनजाति महासंघबाट विक्रम लिम्बू, गैह्रसरकारी संस्थाबाट लक्ष्मी गौतम, अपाङ्गता भएका व्यक्तीको तर्फबाट दिलकुमारी राई, दलित संस्थाबाट राजकुमार गजमेर र बाल क्लबबाट सोहन निरौला सदस्य रहेका छन् । सो समितिको सदस्य सचिवमा शाखा अधिकृत राजेन्द्र धिमाल रहेका छन् ।
यसै गरी संगठनात्मक तथा प्रशासन समितिको संयोजकमा राप्रपा नेपालबाट युगप्रिय निरौला रहेका छन् । सो समितिको सदस्यहरुमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम बस्नेत, ज्येष्ठ नागरिक समाजबाट मुक्ती पोख्रेल र सदस्य सचिवमा कर्मचारी डम्बरबहादुर कार्की रहेका छन् । यसै गरी जलश्रोत तथा भूमि सम्वन्धी समितिमा नेकपा मओवादी –क्रान्तिकारी)का फणिन्द्र अधिकारी संयोजक रहेका छन् । सो समितिको सदस्यमा नागरिक सचेतनाक केन्द्रबाट सुनिता सरदार, संघीय लिम्बुवान मञ्च नेपालबाट इन्द्रमाया आङ्बुहाङ र राप्रपाबाट विदुर पौडेल सदस्य रहेका छन् । सो समितिको सदस्य सचिवमा गायत्री लम्साल रहेका छन् । सो समितिले जिम्वेवार प्राप्त विषयगतको बजेट तर्जुमा गरी नगरपालिकामा पेश गर्ने र सोही अनुसार नगर परिषद्ले कार्यान्वयन गर्ने पनि इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत राईले जानकारी दिए ।