पाँचथर (ब्लाष्ट) जिल्लाको सुभाङ गाविस–९, गाउँसाराको भाग्योदय आधारभूत विद्यालयले सात थान कम्प्युटर निशुल्क पाएको छ । वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरीयमा रहेका जिल्लाका १८ जना युवाहरुले विद्यालयलाई निशुल्क कम्प्युटर प्रदान गरेका हुन् ।
हालै विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच सहयोगि युवाहरुको तर्फबाट चन्द्र कुबिर लिङ्देनले विव्यस अध्यक्ष हरिप्रसाद मैनाली र प्रअ वीरेन सुहाङलाई सो सामग्री हस्तान्तरण गरे । लिङ्देनले कम्प्युटर सँगै एउटा सीसी क्यामेरा, एउटा प्रिन्टर, एउटा स्टेपलाइजर र ४ थान मल्टिप्लग हस्तान्तरण गरे ।
सदरमुकाम आसपासका क्षेत्रका विद्यालयमा अनलाइन शिक्षाको तयारी भइरहेको बेला ग्रामीण क्षेत्रको उक्त विद्यालय र अध्ययनरत विद्यार्थी प्रविधि सँग जोडिन पाउँन भन्ने उदेस्यले सो सहयोग गरेको लिङ्देनले बताए । सामग्री ग्रहण गर्दै विव्यस अध्यक्ष मैनाली र प्रअ सुहाङले सहयोगि युवाहरुलाई धन्यबाद ब्यक्त गरे ।
सो सामग्री खरिदका लागि दक्षिण कोरियामा रहेका पञ्चमीका लिङ्देन सहित पञ्चमीकै सरोज योङहाङ, डम्बरसिंह लिङ्देन, प्रदीप राई, मणिकुमार लिङ्देन, मचिन्द्र योङहाङ र पारस लिङ्देन, सुभाङका तुलसीप्रसाद मैनाली, डम्बर सुहाङ, राजकुमार श्रेष्ठ, अर्जुन श्रेष्ठ, गोपाल बयलकोटी, लक्ष्मी योङहाङ, दिलकुमार खुदाङ, मेमेङका राम लावती र नागीका किरण योङहाङ, यस्तै मलेसियामा रहेका सुभाङका जहरमान सुहाङ र सुजन सुहाङले नगद सहयोग गरेका हुन् ।
यसैबीच विद्यालयका प्रअ सुहाङले कम्प्युटर प्राप्त भएको तर विद्यालयमा कम्प्युटर सिकाउँने शिक्षक नभएकाले शिक्षकको व्यवस्था गरिदिन जिल्ला शिक्षा कार्यालय सँग आग्रह गरेका छन् । प्रअ सुहाङका अनुसार २०५४ सालमा स्थापित उक्त विद्यालयमा हालसम्म एक जना पनि दरबन्दीका शिक्षक छैनन् । हाल ३ जना राहत दरबन्दीका शिक्षकहरु र २ विद्यालयको निजी स्रोतमा आश्रित शिक्षकहरुले विद्यालय सञ्चालन गरिरहेको प्रअ सुहाङले वताए ।