धरान/सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार यम प्रधान सम्मानित बनेका छन् । २१ हजार रुपैया राषीको उक्त पुरस्कार मंगलबार कायस्थ गोपालप्रसाद सरला प्रतिष्ठान धरानले प्रदान गरेको हो ।
उनलाई सम्मान पत्र, दोसल्ला ओढाइएको थियो । यस्तै फरक क्षमता भएका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । एसईई दिएका सरस्वती बाल आश्रमका राम परियार र सारदा बालिका नमुना उच्चमावि कक्षा ११ मा अध्ययनरत गंगा मगरलाई जनही १५–१५ हजार रुपैया राषीको छात्रवृति प्रदान गरिएको छ । फरक क्षमता भएका लालबहादुर लावती, रश्मी गुरुङ, विनिता सतार, सविता साह, सुनिती मण्डल, सुमित्रा साह, पोष्टबहादुर थापा, पदम ठटाल र अनिता घिमिरेलाई ब्रेल पेपर प्रदान गरिएको हो । उनीहरु विभिन्न धरानका निजी क्याम्पस तथा सरकारी क्याम्पसमा अध्ययरत छन् ।
यसैबीच थाउजेण्ड बिग बुद्ध निर्माण गरिरहेको सूर्योदय बुद्ध बिहारलार्इ १ लाख ११ हजार एक सय ११ रुपैया आर्थिक सहयोग गरेको छ । बिहारले बुद्ध जन्तीको अवसरमा १० फुटको बुद्ध प्रतिस्थापन गरिसकेको छ । कार्यक्रममा सांसद कृष्णकुमार राई, प्रतिष्ठानकी संस्थापक सरला कायस्थ र प्रतिष्ठानका अध्यक्ष मुकुल कायस्थ लगायतले छात्रवृति तथा पुरस्कार प्रदान गरेका छन् । प्रतिष्ठानकी संस्थापक कायस्थले उनले पुरस्कार ठूलो कुरा नभए पनि यसबाट केही होस् भन्ने उद्देश्यले प्रदान गरिएको बताइन् । ‘पुरस्कार सहयोगले प्रतिष्ठानको प्रतिष्ठा बढेको छ । त्यसैमा हामी गौरव गर्छौ ।’ उनले भनिन् ।
गतवर्षबाट सुरु गरिएको रत्नप्रसाद पत्रकारिता पुरस्कार पहिलो वर्ष अग्रज पत्रकार हर्ष सुब्बालाई प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, सम्मानित पत्रकार प्रधान, सांसद कृष्णकुमार राईलगायतले बोलेका थिए । सुब्बा रत्नप्रसादले धरान बसाउनमा मूख्य भूमिका खेलेको बताइन्छ । १९६० को दशकमा सुब्बा रत्नप्रसादले नै धरानको प्रारम्भ गरेको बताइन्छ ।