पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–४, थर्पुमा याङवरक पोखरी खानेपानी आयोजना सम्पन्न भएपछि ३६५ घरधुरी लाभान्वित भएका छन् ।

याङवरक पोखरीमा मुहान रहेको यस आयोजनाबाट जोरधारा, थर्पु बजार लगायत क्षेत्रका ८० भन्दा बढी घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । आयोजना सम्पन्न भएसँगै ३६५ घरधुरी लाभान्वित भएको याङवरक गाउँपालिकाले जनाएको छ ।

संघीय सरकारको ७६ लाख ७५ हजार रुपैयाँ विशेष अनुदानमा आयोजना निर्माण सम्पन्न भएको हो । गत असारमा सम्पन्न आयोजनाको मंगलबार गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले उद्घाटन गरेका हुन् ।

गाउँपालिकाको केन्द्र रहेको क्षेत्रमा खानेपानीको सहज व्यवस्था भएपछि स्थानीयवासीलाई आयआर्जनका क्षेत्रमा लाग्न तथा होटल व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने अध्यक्ष योङ्याले बताए ।

याङवरक–४, जोरधाराका सहजनन्द योङ्हाङले व्यवस्थित खानेपानी आयोजना सञ्चालनमा आएपछि होटल व्यवसाय विस्तार हुने अपेक्षा गरिएको बताए ।

याङवरक गाउँपालिकाको केन्द्रसमेत रहेको यस क्षेत्रमा ऐतिहासिक याङवरक पोखरी, थर्पुगाउँ प्रहरी चौकी लगायत मानिसको बाक्लो उपस्थिति हुने स्थान तथा विभिन्न निकायहरू रहेका छन् । खानेपानीको सहज उपलब्धताले यस क्षेत्रको आर्थिक तथा व्यावसायिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस