काठमाडौँ/ उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै कलेजमा पढ्ने साथी कमल (नाम परिवर्तन) सँगको सम्बन्ध विस्तारै प्रेमका रुपमा मात्र झाँगिएन, अवैध यौनसम्बन्ध पनि हुन थाल्यो ।

महिनावारी रोकिएपछि उनीहरु दुवैजना एक क्लिनिकमा परीक्षण गर्न जाँदा गर्भ रहेको थाहा पाए र दुवैजना छानाबाट खसे झैँ भए । सामाजिक लोकलाज र व्यक्तिगत समस्याका कारण गर्भपतन गर्नु नै उचित ठानी गर्भपतन गराए । पहिलोपटक गत साउनमा गर्भपतन गराएका उनीहरुको त्यसपछि पनि यौन सम्बन्ध रोकिएन । गएको चैतमा कल्पना त्यही समस्या लिएर स्वास्थ्य केन्द्र पुग्दा उनको पाठेघरमा थप समस्या देखियो । यसपटक उनले परिवारमा थाहा नहोस् भनेर औषधि पसलबाट औषधि ल्याएर खाँदा पनि गर्भ नगएपछि बाध्य भएर अस्पताल पुगेकी थिइन् ।

कल्पनामात्र होइन, यो समस्या अहिले राजधानीलगायत सहरी क्षेत्रका विद्यालय, कलेजमा अध्ययन गर्ने कतिपय छात्रा झेल्दै छन् । गर्भपतन गराउने २० वर्षमुनिका धेरैजसो ‘प्लस टु’ पढ्ने किशोरी रहेको गर्भपतनको सेवा पु¥याइरहेका अस्पताल तथा स्वास्थ्य संस्थाबाट थाहा हुन्छ । “अहिले २० वर्षमुनिका जतिले गर्भपतन गराइरहेका छन्, उनीहरू अधिकांश अविवाहित छन्” – जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौँका तथ्याङ्क प्रमुख पुष्कर बिजुक्छे भन्नुहुन्छ । आफ्ना यौनसाथीसँग अस्थायी साधन प्रयोगमा पर्याप्त छलफल नहुनु, यौन स्वास्थ्यबारे पर्याप्त जानकारी नहुनु र परिवार नियोजनको अस्थायी साधन प्रयोगमा बढ्दै गएको अनिच्छा नै यसरी गर्भपतन बढ्नुको प्रमुख कारण रहेको उनको ठम्याइ छ ।