विजयपुर । चाडपर्वको मौका छोपेर खुला सीमाबाट हुन सक्ने अवैध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा निगरानी बढाएको छ।

 पकलीस्थित सशस्त्र प्रहरी बाहिनीका बाहिनीपति डीआईजी मनिष थापाले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई जिम्मेवारी निर्वाहमा कुनै किसिमको लापरबाही नगर्न निर्देशन दिएका छन्।

विजयादशमी, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा डीआईजी थापाले शनिबार सुनसरीका विभिन्न सीमा नाकाको निरीक्षण गरी सुरक्षाकर्मीलाई यस्तो निर्देशन दिएका हुन्। उनले सीमा स्तम्भ र दशगजा क्षेत्रको सुरक्षा तथा खुला सीमाको दुरुपयोग रोक्न चौबीसै घण्टा निगरानी राख्न निर्देशन दिएका छन्।

सीमा सुरक्षालाई प्रभावकारी बनाउने क्रममा उनले सीमावर्ती नाकामा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरी सीमा वारपार गर्ने नागरिकको आवतजावतलाई सहज बनाउनसमेत निर्देशन दिएका छन्। चाडपर्वका बेला सीमामा हुने भीडभाडलाई व्यवस्थित गर्दै सर्वसाधारणलाई आवश्यक सहयोग उपलब्ध गराउन उनले जोड दिएका छन्।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सकल दर्जालाई निर्देशन दिँदै डीआईजी थापाले संगठनको गरिमा र मर्यादा कायम राख्न तथा फौजी अनुशासनअनुसार जिम्मेवारी पूरा गर्न आग्रह गरे। अनुशासन उल्लङ्घन गरी गलत गतिविधिमा संलग्न हुने सुरक्षाकर्मीलाई कारबाही गरिने चेतावनी दिँदै उनले कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे।

यसअघि शुक्रबार मोरङका विभिन्न सीमा नाकाको अनुगमन गरेका थापाले शनिबार सुनसरीका नाकाको निरीक्षण गरेका हुन्। चाडपर्वका समयमा सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्नुका साथै नागरिकको आवतजावत सहज बनाउने र सुरक्षाकर्मीलाई जिम्मेवारीप्रति थप जवाफदेही बनाउने उद्देश्यले निरीक्षण गरिएको हो।