झापा/ झापाको कचनकवल गाउँपालिका र गौरीगञ्ज नगरपालिकाका गाईभैँसीमा खोरेत रोगको सङ्क्रमण फैलिएको छ ।
जिल्लाको कचनकवल–६ केचना र गौरीगञ्जको महाभारामा खोरेतको सङ्क्रमण देखिएको जिल्ला पशुसेवा कार्यालय, झापाका सूचना अधिकृत कुमारसिंह खत्रीले जानकारी दिए। सो क्षेत्रका ३१७ पशु खोरेत रोगबाट सङ्क्रमित भएको र छवटा बाच्छाबाच्छी मरेको उनले बताए ।
कार्यालयका पशु चिकित्सक चन्द्रदेव साहका अनुसार खुला चरनका कारण पशुमा खोरेतको सङ्क्रमण देखिएको हो । खोरेतको सङ्क्रमण हुँदा पशुको मुख र खुरमा घाउ हुने, दूध कम दिने र तौल घट्ने चिकित्सक साहले बताए ।
खोरेत सात प्रकारको भाइरसको सङ्क्रमणबाट लाग्ने गरे पनि नेपालमा चार प्रकारको मात्र देखापरेको पशु चिकित्सक साहले जानकारी दिए। “ए, ओ, सी र एसिया वान नामक भाइरस नेपालमा देखापरेको छ” – उनले भने ।
जिल्लामा ९० हजार थान खोरेतविरुद्धको भ्याक्सिन आइसकेको र अन्य पशुमा खोरेतको सङ्क्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा आठ हजार थान पठाइएको जानकारी पनि उनले दिए । रासस