विजयपुर। कोशी नदीको कटानले घरखेत गुमाएका तटीय बासिन्दाको विस्थापन, जीविकोपार्जनको सङ्घर्ष र सामुदायिक सम्बन्धको कथा समेटिएको वेब सिरिज ‘कोशीका कथाहरू’ शनिबार युट्युबमा सार्वजनिक भएको छ ।

सुहाङ कुलुङ वालाखामको निर्देशनमा तयार भएको वेब सिरिज हाम्रो पिपलगाछी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सिरिजले कोशी नदीको बाढी र कटानबाट प्रभावित परिवारले भोगेको मानवीय क्षति, आर्थिक अभाव र सामाजिक जीवनका अनुभवलाई प्रस्तुत गरेको छ ।

सिरिजमा समेटिएको कथाअनुसार २०३५/३६ सालदेखि सुरु भएको कोशी कटान २०४४ सालसम्म पुग्दा विनाशकारी बनेको थियो । बाढीले बस्ती, घर र खेतीयोग्य जमिन बगाउँदा स्थानीयले ठूलो क्षति बेहोर्नुपरेको थियो । नदीमा डुङ्गा पल्टिँदा मानिसको ज्यान गएको, गाईभैँसी बगेको र घरमा राखिएको अन्नपातसमेत जोगाउन नसकिएको अनुभव कथामा समेटिएको छ ।

घरखेत गुमाएर विस्थापित भएका परिवारको पीडा सम्पत्तिको क्षतिमा मात्र सीमित छैन । पुरानो थातथलोबाट अलग हुनुपर्दा उनीहरूको पारिवारिक जीवन, विवाहबारी र सामाजिक सम्बन्धसमेत प्रभावित भएका छन् ।

वेब सिरिजमा बाबु र छोरीबीचको संवादमार्फत कोशी नदी स्थानीयको जीवनसँग कसरी जोडिएको छ भन्ने देखाइएको छ । नदीमा बगेर आएका दाउरा हेर्दै छोरीले कोशी रिसाएको हो कि भनेर सोध्दा बाबुले नदी न रिसाउने, न खुसी हुने, आफ्नै गतिमा बग्ने बताउँछन् ।

कोशी नदी स्थानीयका लागि दाउरा र जीविकोपार्जनको स्रोत हो । तर, त्यही नदीको बहावले घरखेत र वर्षौँको कमाइसमेत बगाउन सक्छ । यही दोहोरो सम्बन्धलाई सिरिजले पारिवारिक संवादमार्फत प्रस्तुत गरेको छ ।

विस्थापनपछि आर्थिक सङ्घर्षमा परेका परिवारको दैनिकी पनि कथामा समेटिएको छ । दशैँ र फूलपाती जस्ता चाडपर्वमा परिवारलाई खुसी राख्ने चाहना हुँदाहुँदै पनि दैनिक ज्यालादारीमा निर्भर हुनुपर्ने बाध्यता उनीहरूले भोगिरहेका छन् । बालबालिकाको आवश्यकता पूरा गर्न र चाडपर्व मनाउनसमेत काम खोज्नुपर्ने अवस्थालाई सिरिजले देखाएको छ ।

विगतको दुःखबीच पनि खुसी भएर बाँच्ने चाहना कथाका पात्रहरूको संवादमा देखिन्छ । ‘डुब्ने बेलाको घाम, अब बाँकी दिन त खुसी हुनुपर्छ’ भन्ने अभिव्यक्तिले उनीहरूको जीवन भोगाइलाई प्रस्तुत गर्छ ।

नवराज विष्टको कथामा आधारित वेब सिरिजको निर्देशन र सम्पादन सुहाङ कुलुङ वालाखामले गरेका हुन् । कोशी किनारका दृश्य समेटिएको सिरिजमा अर्जुन श्रेष्ठ, सबिना बानिया र हिमाल चाम्लिङ राईलगायतले अभिनय गरेका छन् ।

निर्देशक वालाखामले ‘कोशीका कथाहरू’ मा आधारित वेब सिरिजलाई निरन्तर सार्वजनिक गरिने जानकारी दिएका छन् ।