नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषवाकर र कलाकार निशा अधिकारी आगामी १६ गते विवाह बन्धनमा बाँधिने भएका छन्। केही वर्ष अघिदेखि प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै उनीहरूले औपचारिक रूपमा नै विवाहको मिति तय गरेका हुन्। निशा र शरदको ब्रेकअप भएको हल्ला चलेपनि त्यसलाई उनीहरूले हल्लामै सिमित राखेका छन्। सन् २००५ मा मिस इन्टरनेशनल नेपाल भएपश्चात चर्चामा आएकी निशा एकाएक मोडलिङ र टेलिभिजनमा अभिनय गर्दै फिल्म लाइनमा प्रवेश गरेकी हुन्। यत शरद भेषवाकर नेपाली क्रिकेटमा परिचित अनुहार हुन्। उनी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको तर्फबाट पहिलो पटक शतक (२०१० मा फिजी विरुद्ध नट आउट १०५ रन) बनाउने क्रिकेटरसमेत हुन्। प्रेमको हल्ला चलेको करिब ३ वर्षपछि उनीहरुको प्रेम अन्ततः विवाहमा परिणत हुने भएको हो। निशा र शरदले आफ्नो बिहेको निम्तोको डिजाइन क्रिएटिभ बनाउँदै क्रिकेटको बल, ब्याट र स्टम्ब्स राखेर डिजाइन गरेका छन्।