धरान । बाम गठबन्धनका नेता एवं उम्मेदवारहरुले कम्युनिष्टहरुले मात्र ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने बताउदै प्रदेश र प्रतिनिधि सभामा बहुमत हासिल गरेपछि वृद्ध भत्ता दोब्बर बनाउने बताएका छन् ।
संयुक्त बाम गठबन्धनको वडा १५ स्थित ज्येष्ठ नागरिक परिचालन समितिद्धारा शनिबार पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा नेता एवं उम्मेदवारहरुले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि एवं एमाले जिल्ला सचिवालय सदस्य तथा निर्वाचन परिचालन मुल कमिटिका संयोजक प्रकाश राईले एमाले नेतृत्वको ९ महिने सरकारको पालाबाट सम्मान स्वरुप वृद्धभत्ताका थालनी भएको बताए । अग्रजहरुलाई सम्मान गर्ने सँस्कारलाई निरन्तरता दिदै ज्येष्ठ नागरिकहरुको लागि स्थानीय सरकारले प्रत्येक वडामा ज्येष्ठ नागरिक पार्क बनाउन लागेको उल्लेख गर्दै नेता राईले प्रदेश र केन्द्र सरकारबाट पनि यो योजनालाई पुरा गर्ने प्रतिवद्धता जनाए । ‘हामीले ज्येष्ठ नागरिकहरुलाई पैसा मात्र दिएको होइन, आदर सम्मान दिएका हौं । अब प्रत्येक वडामा दुःखसुखको कुरा गर्ने, ध्यान र योग गर्नेस्थलकोरुपमा ज्येष्ठ नागरिक पार्क बनाउने योजना छ,’उनले भने ।
ज्येष्ठ नागरिकहरुलाई पारीवारिक सेल्टरमा राख्ने परिकल्पना गरिएको उल्लेख गर्दै उनले विभिन्न धार्मिक आस्थाका केन्द्रहरुलाई पनि प्रर्वद्धन गरिने बताए । ‘मान्छे वृद्धवृद्धा हुदै गएपछि आध्यात्मतिर मन जान्छ, त्यसैले जुनसुकै धर्मको केन्द्रलाई हामी प्रर्वद्धन गर्नेछौं,’उनले थपे । वडाका ४ सय भन्दा बढी वृद्धवृद्धाहरुलाई सम्मान गरिएको कार्यक्रममा प्रदेशसभा क का उम्मेदवार प्रदिप भण्डारीले ज्येष्ठ नागरिकहरु मार्गदर्शक अभिभावकहरु भएकोले बामपन्थीहरुले सधै सम्मान गर्ने गरेको बताए । ज्येष्ठ नागरिकहरुको भत्ता दोब्बर बढाउने घोषणा गर्दै उनले हाल सरकारले ६० बर्ष माथिकालाई ५० प्रतिशत स्वास्थ्य उपचारमा छुट गरेकोमा भविष्यमा अझ धेरै नै छुटको साथै अन्य सेवा, सुविधा दिलाउने पनि बताए । ‘कम्युनिष्टहरुले वृद्धवृद्धालाई आदर सम्मान गर्दैन भनेर हल्ला फैलाएको छ, तर त्यो सत्य होइन । कम्युनिष्टले जति सम्मान, आदर र सेवा कस्ले गरेको छ ?’उम्मेदवार भण्डारीले भने ।
निवर्तमान सांसद कृष्णकुमार राईले आफु पनि ज्येष्ठ नागरिकको समुहमा प्रवेश गर्दै गरेको उल्लेख गर्दै कम्युनिष्टहरुले जतिको सम्मान कसैले पनि नगर्ने बताए । ‘म पनि ज्येष्ठ नागरिकको बाटोमा हिड्दैछु, तपाईहरुले अनेक हल्ला सुन्नु भएको होला तर त्यस्तो होइन । कम्युनिष्टहरुले मात्र ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्छ,’उनले भने । एमाले जिल्ला नेता एवं निर्वाचन परिचालन मुल कमिटिका सहसंयोजक मुरारी सुवेदीले विगतको अल्पमतको सरकार हुदा पनि कम्युनिष्टले नै वृद्धवृद्धा, एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिएको स्मरण गर्दै अब बहुमतको प्रदेश र केन्द्र सरकार बनाएर अझै धेरै राहत, सुविधा दिलाउने बताए । समितिका भिमबहादुर सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा एमालेकी समानुपातिक उम्मेदवार सावित्री श्रेष्ठ र माओवादी केन्द्रकी उम्मेदवार चेतना श्रेङले पनि बोल्दै ज्येष्ठ नागरिकहरुको हकहितको लागि सधै तत्पर हुने बताउदै बामगठबन्धनलाई जिताउन आग्रह गरेका थिए ।
चुनावी नाराः ज्येष्ठ नागरिक पार्क बनाउने, पारिवारिक सेल्टर र भत्ता दोब्बर बनाउने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































